काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग तत्काल नहटाउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पत्राचार गरेपछि महानगरले भत्काउने तयारी रोकेको हो।
थापाथलीस्थित सम्पदा क्षेत्रको गुठी जग्गा अतिक्रमण गरी बनेका टहरा र संरचनामा डोजर चलाएको महानगरले ट्राफिक प्रहरी प्रभाग पनि खाली गर्ने तयारी गरेको थियो। तर प्रशासनको पत्रपछि तत्कालका लागि उक्त कार्य रोकिने महानगर प्रहरी बलका फिल्ड कमाण्डर डिएसपी पूर्ण भट्टले जानकारी दिए।
‘गुठीको जग्गामा बनेका सबै अवैध संरचना हटाउने तयारी थियो,’ उनले भने, ‘तर सीडीओ कार्यालयले ट्राफिक प्रहरी प्रभागलाई अहिले नहटाउन पत्र पठाएपछि कार्य स्थगित गरिएको हो।’
प्रशासनले ट्राफिक प्रहरी प्रभागको वैकल्पिक व्यवस्थापन भएपछि मात्रै संरचना हटाउन अनुरोध गरेको छ। महानगरका अनुसार कालमोचन घाट, राम मन्दिर र विष्णु लक्ष्मी मन्दिरलगायत सम्पदा क्षेत्रको करिब दुई रोपनी गुठी जग्गामा बनेका संरचना भत्काइसकिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले भने उक्त विषयमा प्रहरीलाई औपचारिक जानकारी नगराइएको बताए। ‘थापाथलीको घटनाबारे हामीसँग जानकारी छैन,’ उनले भने, ‘प्रहरी हाल अन्य सुरक्षात्मक जिम्मेवारीमा व्यस्त छ।’








प्रतिक्रिया