काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ति जडान कार्य सुरु भएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार साइटमा बत्ति जडानका लागि पोल झारेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार साइट अनुगमन र स्थानीयसँगको अन्तक्रियामा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि तुरुन्तै बत्ति जडान सुरु गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र नुवाकोट वितरण केन्द्र प्रमुखलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए।
फोहोरबाट निस्कने लिच्चड व्यवस्थापनका लागि साइटमा पम्प आपूर्ति गरिसकिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।
साथै, स्थानीयसँगको प्रतिबद्धताबमोजिम नियमित अनुगमन गर्न शहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियरको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका, ककनी गाउँपालिका र प्रत्यक्ष प्रभावित स्थानीयको प्रतिनिधित्व रहनेछ।








प्रतिक्रिया