
काठमाडौँ
काठमाडौं महानगरका मेयर बालेनले पशुपति क्षेत्रस्थित जयवागेश्वरीमा श्रृष्टिकर्ता ब्रह्माको मन्दिर उद्घाटन गरेका छन् ।
गत कात्तिक १७ गते प्रहरी कार्यालयबाट मूर्ति ल्याएर राखिएको मन्दिरलाई आज वैदिक विधिपूर्वक शुभारम्भ गरिएको हो । करिब ४० वर्षदेखि ब्रह्मा मन्दिरको मूर्ति हराएपछि यो मन्दिर लोप जस्तै भएको थियो । मूर्ति हराएसँगै जीर्ण मन्दिर भत्किएको थियो ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सम्पदाको सूचीकरण गर्ने क्रममा यसलाई पनि समावेश गरेर बनाउनुपर्ने सूचीमा समावेश गरिएको पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले बताएका छन् ।
यो मन्दिर कोष, काठमाडौँ महानगरपालिका कसले बनाउने भन्ने बहस केही समय चलेको थियो । अन्तिममा महानगरपालिका बनाउने तय भएको थियो । महानगरपालिका ८ कार्यालयको सक्रियतामा यो मन्दिर पुनःनिर्माण सम्पन्न भएको हो ।
मन्दिरको आज महागरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डङ्गोल, कामपा वडा नं. ८ का अध्यक्ष आशामान संगतलगायतले संयुक्त रुपमा मन्दिरको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमपछि मन्तव्य व्यक्त गर्दै स्वामी केशवानन्द गिरीले यस्ता सम्पदालाई संरक्षणका लागि तीनै तहका सरकारको ध्यान जानुपर्ने बताएका छन् ।
महानगरपालिकाका उपप्रमुख डङ्गोलले जहाँ मूर्तिको पूजा हुन्छ, मूर्तिलाई त्यहीँ राख्नुपर्ने बताइन् । महानगरका अन्य स्थानमा यसै गरिने उपमेयर डंगोलको भनाइ छ । कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले मन्दिरमा नियमित पूजा, आराधना गर्ने व्यवस्था मिलाइने बताएका छन् । महानगर वडा नं. ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगत १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको बताउछन् । यसपछि यहाँ झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको उनले सुनाएका छन् ।
“अध्ययनबाट मन्दिर छैटौँ शताब्दीदेखि सातौँ शताब्दीको बीचमा निर्माण भएको अनुमान गरिएको छ, मन्दिरको बनावट र प्रकृतिसम्बन्धी दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्व विद्हरुबाट मन्दिरको रेखाङ्कन गराएर पुननिर्माण गरिएको हो”, उनले भने ।
हराएको ब्रह्माको मूर्ति रुद्रमती नदीमा माटोले छोपेर राखेको अवस्थामा भेटिएको थियो । भेटिएको ब्रह्माको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो । चतुर्मुख ब्रह्माकोे मूर्तिलाई पञ्चाङ निर्णायक समितिले दिएको कात्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गराइएको हो । करिब २०३६ सालतिर यो मूर्ति चोरिएको थियो । चोरेर लैजाने क्रममा टाढा पु¥याउन नसकेपछि चोरले छोडेर भोगेका थिए । त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको हो ।
“मूर्तिमा चार वटा टाउका छन्, छातीतर्फको टाउकोले पश्चिम हेरेको छ । एउटा हातमा कमण्डलु र अर्को हातमा रुद्राक्षको माला बोकेको छ, दुई वटा टाउका काँध माथि छन् भने एउटा टाउको पछाडिपट्टि छ, यसकारण यो मूर्ति ब्रह्माको हो”, कोषका पुरातत्व अधिकृत गौतमले भने ।
पछिल्लो समयमा यो मूर्ति कसको हो भन्ने विषयमा सामाजिक सञ्जालमा चलेको चर्चाका विषयमा कुरा गर्दै उनी भन्छन्, “मूर्ति ललितासनमा छ । यो ब्रह्माको आसन हो । नेपालमा ब्रह्माका दुई वटा मूर्ति छन् । एउटा यही हो । अर्को चापागाउँमा छ । यहाँका विषयमा अभिलेख प्राप्त हुन सकेको छैन । चापागाउँमा रहेको मूर्तिसँग कुवेर गुप्त र आनिक गुप्तले निर्माण गराएको उल्लेख छ ।”
मन्दिरका आर्किटेक्ट डिजाइनर विनिता मगैयाका अनुसार जगबाट ३००×२०० मिलिमिटरका ७२ वटा इँटाको उचाइमा मूर्तिको आसन छ । एउटा इटाजत्ति मूर्तिको जग छ । १० वटा इटाको उचाइ बराबरको मूर्ति छ । झाडी र फोहर थुपारिएको ठाउँमा मन्दिरको प्रारुप खोज्ने बेलामा लम्बाइ चौडाइ साढे ८ भएको संरचना भेटिएको थियो । मगैयाका अनुसार अहिले मन्दिरको पेटी २६ × २६ को र मन्दिर १६ × १६ को क्षेत्रफलमा बनाइएको छ ।
आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट रु एक करोड १२ लाख ४५ हजारको लागतमा मन्दिर पुनःनिर्माण भएको हो । सडकबाट पाँच फिट उचाइमा पेटी उठाएर मन्दिर निर्माण गरिएको छ । माटो, इटा र काठको प्रयोगबाट पुनःनिर्माण भएको मन्दिर २३.५ फिट उचाइको दुई तले प्यागोडा शैलीको छ । मन्दिरको शिरमा तीन फिटको गजुर राखिएको छ ।








प्रतिक्रिया