२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खुल्ला मञ्च अब सधैंका लागि खुला, प्राकृतिक दुबो र पैदलमार्गसहित पुनर्जीवित



काठमाडौं । राजधानीको ऐतिहासिक खुल्ला मञ्च अब सधैंका लागि खुला हुँदैछ। लामो समयपछि यो स्थल हरियाली दुबोसहितको घाँसे चउर, आकर्षक पैदलमार्ग र बहुउपयोगी स्थानका रूपमा पुनर्जीवित बनेको छ।

खुल्ला मञ्चको १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ। पहिले उबडखाबड देखिने चउर अहिले लोभलाग्दो हरियालीले ढाकिएको छ। यो काम काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सञ्चालन गरेको “खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति” कार्यक्रमअन्तर्गत गरिएको हो। महानगरपालिकाले सबै वडाका खेलकुद पूर्वाधारका लागि ६ करोड ९८ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको छ। सोही रकमबाट खुल्ला मञ्चमा करिब ९० लाख रुपैयाँ खर्च गरी दुबो रोपिएको हो।

चउरको वरिपरि ४ मिटर चौडाइको पैदलमार्ग बनाइएको छ, जसका लागि सहरका अन्य स्थानमा स्तरउन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरू पुनःप्रयोग गरिएका छन्। मार्गमा २१ वटा विद्युत् पोल जडान गरिएका छन्, जसमा न्यूरोड क्षेत्रमा प्रयोग भएका पोलहरू पुनःस्थापित गरिएको हो। यी पोलहरूमा दुईवटा आर्म छन्— एउटा मैदानतर्फ फर्किएको १०० वाट क्षमताको बत्ती र अर्को पैदलमार्गतर्फ फर्किएको ३० वाट क्षमताको बत्ती। दुवै बत्ती डे–नाइट सेन्सरयुक्त छन्, जसले राति आफैं बल्ने र दिनमा निभ्ने सुविधा दिनेछन्।

खुल्ला मञ्चलाई अब सबैका लागि खुला राखिनेछ। यो स्थान बिहान व्यायाम, बालबालिकाका खेलकुद, वयस्कका लागि टहलिने र आराम गर्ने, साथै युवाहरूका लागि खेल प्रशिक्षण तथा मनोरञ्जन स्थलका रूपमा प्रयोग गर्न सकिनेछ।

चउरको पश्चिमपट्टि रहेको मुख्य द्वारतर्फ गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ क्षेत्र तयार पारिएको छ, जसलाई आवश्यकता अनुसार भलिवल र ब्याडमिन्टन जस्ता खेलका लागि पनि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पूर्वाधार निर्माण र परामर्शका लागि काठमाडौँ महानगरपालिकाले २०८१ वैशाख १० गते नेपाल सरकारको स्वामित्वमा रहेको पूर्वाधार निर्माण कम्पनीसँग नीतिगत सहमति पत्रमा हस्ताक्षर गरेको थियो। त्यसपछि वैशाख २३ गते खुल्ला मञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता भई २४ गतेदेखि काम सुरु भएको थियो।

ग्रेडिङ र लेभलिङपछि मैदानमा पानी नजम्ने र सतहको पानी पुनर्भरण हुने सुनिश्चित गर्न ६ वटा वाटर रिचार्ज पिट (४ फिट व्यास र ४ फिट गहिराइ) बनाइएका छन्। कामको क्रममा करिब ५० जनाको टोलीले तीन महिना लगातार मैदानका ढुंगा टिप्ने, माटो मिलाउने र दुबो रोप्ने काम गरेको थियो।

खुल्ला मञ्च २३ हजार ४१५ वर्गमिटर (झण्डै ४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ। यसको लम्बाइ टुँडिखेलतर्फ २२० मिटर, रत्नपार्कतर्फ १९० मिटर, प्राधिकरणतर्फ चौडाइ करिब ११० मिटर र वीर अस्पतालतर्फ ११७ मिटर रहेको छ। पहिले काठमाडौँ टावर निर्माणका क्रममा सार्वजनिक यातायात सञ्चालनका लागि अस्थायी बसपार्कका रूपमा प्रयोग गरिएको खुल्ला मञ्च २०७२ सालको भूकम्पपछि वीर अस्पताल र दरबार हाइस्कूल पुनर्निर्माणका लागि समेत प्रयोगमा आएको थियो।

अब भने यो ऐतिहासिक स्थल आफ्नो मूल स्वरूपमा फर्कँदै—सहरका सबैका लागि खुला, हरियाली र जीवन्त खुल्ला मञ्चका रूपमा पुनःजीवित भएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, बिहिबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।