काठमाडौं । काठमाडौं महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र बैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ। शिक्षा विभागले विज्ञ समूह गठन गरेर यो प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
बैठकमा उपप्रमुख सुनिता डंगालले बालमैत्री पाठ्यपुस्तक तयार पार्नुपर्ने र पाठ्यक्रम संशोधनले स्थानीय पहिचान तथा मौलिकता कायम राख्ने उद्देश्य पूरा गर्न मद्दत पुग्ने बताइन् । उनले शिक्षण प्रभावकारी बनाउन संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षक-शिक्षिकालाई प्राथमिकतामा राखेर क्षमता विकास तालिम सञ्चालन गर्न सुझाव दिइन् ।
काठमाडौं महानगरपालिकाले कक्षा १–८ सम्म नेपाल भाषाको पाठ्यपुस्तक ‘येँ देय् म्हसिके’ (काठमाडौँलाई चिनौँ) को माध्यमबाट स्थानीय भाषा शिक्षा कार्यान्वयन गरेको छ। यससँगै तामाङ् भाषाको पाठ्यपुस्तक पनि लागू गरिएको छ।
पाठ्यक्रममा कक्षा ४–५ मा ७५ अङ्क अभ्यासगत र २५ अङ्क सैद्धान्तिक मूल्याङ्कन, कक्षा ६–८ मा ५०–५० अङ्क अभ्यासगत र सैद्धान्तिक मूल्याङ्कन हुने व्यवस्था छ।
पाठ्यपुस्तकमा नेवार समुदायको जनजीवन, कला, सिप, व्यवसाय, स्वास्थ्य, संस्कार, चाडपर्व, परम्परागत खेल, भाषा र लिपि लगायतका सांस्कृतिक र सामाजिक पक्ष चित्र र संकेतसहित समावेश गरिएको छ।
यो कदमले स्थानीय भाषा शिक्षणलाई प्रभावकारी बनाउने र सांस्कृतिक पहिचान जगेर्ना गर्ने उद्देश्य राखेको महानगरपालिकाले जनाएको छ।








प्रतिक्रिया