२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गौतमबुद्ध क्रिकेट रंगशालाको १५ करोड भुक्तानी अल्झियो, सीताराम कट्टेल मन्त्रालय धाउँदै



काठमाडौं । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सरकारले छुट्याएको १५ करोड रुपैयाँ भुक्तानी प्रक्रिया झन् जटिल बन्दै गएको छ। पुल्चोक इञ्जिनियरिङ कलेजले प्राविधिक मूल्यांकन पूरा गरिसके पनि प्रशासनिक ढिलाइका कारण धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ निरन्तर काठमाडौं र भरतपुर धाउन बाध्य भएका छन्।

सरकारले चालु आर्थिक वर्षमै रंगशाला निर्माणका क्रममा लागेको उधारो तिर्न १५ करोड रुपैयाँ छुट्याएर भरतपुर महानगरपालिकाको खातामा पठाइसकेको धुर्मुसका भाइ कुमार कट्टेलले बताए। तर भरतपुर महानगरले अर्थ मन्त्रालयको कार्यादेश आवश्यक भएको भन्दै रकम भुक्तानी रोकिरहेको आरोप लागिएको छ। पुल्चोकले कात्तिक ११ गते प्रतिवेदन बुझाएपछि धुर्मुसले भुक्तानी माग गर्दा महानगरले खेलकुद मन्त्रालयलाई पत्र लेख्नुपर्छ भन्दै फायल अघि बढाएन।

बिरामी अवस्थामा रहेका धुर्मुस अहिले भरतपुर महानगरको पत्र लिएर खेलकुद मन्त्रालय पुगेका छन्। पुल्चोक इञ्जिनियरिङ कलेजको प्रतिवेदन अनुसार रंगशालामा भ्याटसहित ५९ करोड ९० लाख रुपैयाँ बराबरको काम भइसकेको छ। नमूना मैदान, कालोमाटो ढुवानी, दुबो रोपाइँ, मौज्दात सामग्री र स्क्राप मूल्य समावेश नगरिएकाले वास्तविक काम ६० करोडभन्दा माथि पुगेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ।

फाउन्डेसनको अडिट रिपोर्ट अनुसार निर्माणका क्रममा ६३ करोड रुपैयाँ खर्च भएको छ। जनस्तर, सरकारी तथा गैरसरकारी स्रोतबाट ३८ करोड रुपैयाँ सहयोग जुटाइएको थियो। तर डढऋ तिर्न भने धुर्मुसले १८ करोड रुपैयाँ ऋण लागेको बताउँदै आएका छन्। केही सप्लायर्सले रकम नपाएको भन्दै धुर्मुसविरुद्ध अदालतमा मुद्दा समेत दायर गरेका छन्। पञ्चकन्या स्टिलले ५२ लाख रुपैयाँ भुक्तानी नपाएको भन्दै मुद्दा दायर गरेको थियो।

१० हजार दर्शक क्षमता लक्ष्यसहित निर्माण सुरु गरिएको रंगशाला २०७८ साउन २२ गते बजेट अभावले रोकिएको थियो। सो समयसम्म करिब ३९ प्रतिशत काम सम्पन्न भएको थियो। त्यसपछि फाउन्डेसनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व हस्तान्तरणका लागि पत्र दिएको थियो। अहिले भने भरतपुर महानगरले निर्माण कार्य अगाडि बढाइरहेको छ।

महानगरका इञ्जिनियरका अनुसार अहिले प्याराफिट र दुईवटा टावरको दोस्रो तल्लासम्म काम भइरहेको छ। टावर तीन तल्ले बन्नेछ। सम्झौता अनुसार यतिबेला ४८ प्रतिशत काम हुनुपर्ने भए पनि केही ढिलाइ भएको महानगरले जनाएको छ। हिमालयन कालिञ्चोक बिबिआर जेभीमार्फत २०८३ पुस २२ भित्र ७८ करोड ५० लाख रुपैयाँमा पहिलो चरण पूरा गर्ने लक्ष्य छ।

पहिलो चरण सकिएपछि १५ हजार दर्शक क्षमता, दुईवटा भीआईपी टावर, पाँचवटा पिच, ड्रेनेज, रेलिङ, पार्किङ र आवश्यक पूर्वाधार तयार हुनेछन्। दोस्रो चरणमा विस्तार गरी ३० हजार दर्शक क्षमता पुर्‍याइनेछ।

रंगशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा १९ कठ्ठा जग्गामा निर्माण भइरहेको छ। सरकारले कात्तिक २३ गते रंगशालालाई राष्ट्रिय गौरवको परियोजनामा समेटेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शुक्रबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।