२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एनपीएल उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर काठमाडौंसँग पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै शानदार विजयी शुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार साँझ भएको खेलमा जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमै पुरा गर्‍यो।

टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौंका बलरहरूले उत्कृष्ट खेल प्रदर्शन गरे। जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन मात्रै बनायो। सुरुआती ब्याट्सम्यान लाहिरू मिलान्था ७ रनमा, कप्तान अनिल शाह शून्यमै आउट भएपछि जनकपुर दबाबमा परेको थियो। अमेरिकी बलर मिलिन्द कुमारले दुवै ओपनरलाई आउट गर्दै चौथो नम्बरका जान निकोल लोफ्टी इटनलाई २ रनमै पवेलियन फर्काएका थिए।

जनकपुरका लागि मार्की खेलाडी आसिफ शेखले ४१ बलमा ५१ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले मयन यादवसँग ३२ रनको साझेदारी गरे। मयनले ३४ रन थपे भने लाहिरू समारकोनले २२ रनको योगदान दिए। काठमाडौंका मिलिन्दले ३ विकेट लिँदा करण केसी, साहब आलम र सन्तोष यादवले समान एक–एक विकेट लिए।

जवाफमा काठमाडौँले ओपनर आकाश त्रिपाठी र बेन चार्ल्सवर्थले ७० रनको साझेदारी गर्दै सहज सुरुआत गरे। चार्ल्सवर्थले २३ बलमा ८ चौका प्रहार गर्दै ४६ रन जोडे। आकाशले ३९ रन बनाए। भीम सार्की ३ रनमा आउट भए पनि मिलिन्द कुमार (१९) र जोन सिम्सन (१३) ले रन बटुलेपछि काठमाडौँले ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो।

जनकपुरका किशोर महतो, ललित राजवंशी, रुपेश सिंह, लोफ्टी इटन र संजय कृष्णमूर्तिले एक–एक विकेट लिए तर काठमाडौँको जित रोक्न सकेनन्। एनपीएलमा मंगलबार बिहान चितवन राइनोज र कर्णाली याक्सबिच तथा साँझ विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्सबिच खेल हुने छ। दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।