२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो



काठमाडौँ
नेपाल प्रिमियर लिग (एनपिएल)मा साविकको उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित दर्ता गरेको हो । यो जितसँगै सुदूरपश्चिम चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग पराजित भएको थियो ।

आज सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ७५ रनमा समेटियो । पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन् । कुशलले ३२ बलमा ५३ रन बनाएर आउट भए । जिम्मी निशमले ४७, ड्यान डाउथवैट ३७ रनको योगदान दिए ।

बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले दुई, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन साउदले समान एक–एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै रनको १ सय ९३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ६८ रनको योगदान दिए । विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए ।

पोखराका लागि निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले समान दुई–दुई विकेट लिए । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०८२, शुक्रबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।