ललितपुर
नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि ललितपुर जिल्लाबाट प्रतिनिधी छनौट गरिएको छ । तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचनमार्फत प्रतिनिधी छनौट गरिएको हो ।
सर्वसम्मतको प्रयास गरिएपनि त्यो संभव नभएपछि मतदानमार्फत प्रतिनिधी छनौट गरिएको एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिएका छन् ।
ललितपुर क्षेत्र नम्बर १ बाट चेतनाथ संजेल, मधुसुदन पौडेल , कमला लामा , तारा संजेल र श्रीविक्रम घिमीरे विजयी भएका छन् ।
खुल्ला कोटामा २ जनाका लागि भएको मतदानमा संजेल र पौडेल विजयी भएका हुन् । खुल्लामा सबैभन्दा बढि मत हालका बाग्मती प्रदेशका कृषिमन्त्री समेत रहेका मधुसुदन पौडेलले पाए । उनले ७ सय १३ मत ल्याए । अर्का विजयी भएका पूर्व बाग्मती प्रदेशसभा सदस्य संजेलले ६ सय ६५ मत पाए । सोही कोटामा पराजित कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ५ सय २३ मत ल्याउँदा रमेशचन्द्र घिमीरेले ३ सय ९१ मत ल्याए ।
सोही क्षेत्रको महिला कोटामा विजयी भएकी कमला लामाले सबैभन्दा बढि ७ सय ५९ मत ल्याउन सफल भइन् । निर्वाचित भएकी अर्की सदस्य तारा संजेलले ५ सय ९५ मत प्राप्त गरिन् । पराजित गमला विष्टले ५ सय ८ र गोमा घिमीरेले ३ सय ६८ मत प्राप्त गरिन् ।
क्षेत्र नम्बर १ कै युवा कोटामा श्रीविक्रम घिमीरे विजयी भएका छन् । गोदावरी नगर अध्यक्ष समेत रहेका घिमीरेले ६ सय ८४ मत ल्याए । पराजित जिल्ला प्रचार कमिटीका संयोजक राजेन्द्र न्यौपानेले ५ सय १० मत पाए ।
क्षेत्र नम्बर १ मा २ हजार ३ सय ६ संगठीत सदस्य रहेकोमा १२ सय १ मत खसेको थियो ।
यसैगरी क्षेत्र नं २ बाट खुल्लातर्फ अष्टवीर ब्यन्जनकार र रामहरी बजगाइँ र महिलातर्फ देवीका राई महाधिवेसन प्रतिनिधीका रुपमा निर्वाचित भएका छन् । सोही क्षेत्रको यूवातर्फ सुजित बस्नेत यसअघि नै सर्वसम्मत भएका छन् ।
क्षेत्र नम्बर २ मा १ हजार ५ सय ३८ संगठीत सदस्य रहेकोमा ७ सय ५ मत खसेको थियो ।
११ औँ महाधिवेसनको प्रतिनिधीका लागि ललितपुर क्षेत्र नम्बर ३ बाट खुल्लातर्फ बाग्मती प्रदेशसभा सदस्यहरु प्रेमभक्त मर्हजन र रघुनाथ मर्हजन महिलातर्फ सुकुमाया लामा र यूवातर्फ ज्ञानभक्त डंगोल विजयी भएका छन् ।
क्षेत्र नम्बर ३ मा १ हजार ३ सय ६८ संगठीत सदस्यमा ४ सय २४ मत खसेको थियो ।
३ वटै क्षेत्रमा सबैभन्दा बढि करिब ५६ प्रतिशत मत क्षेत्र नम्बर १ मा खसेको थियो । यस्तै क्षेत्र नम्बर २ मा करिब ४६ प्रतिशत र क्षेत्र नम्बर ३ मा करिब ३१ प्रतिशत मत खसेको थियो ।
यस्तै ललितपुर जिल्लाबाट मुक्ति समाजका तर्फबाट प्रदीप रम्तेल महाधिवेसन प्रतिनिधिका रुपमा सर्वसम्मत भएका छन् ।
१५ मंसिर २०८२, आइतबार
144
Shares








प्रतिक्रिया