काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै प्लेअफको पहिलो क्वालिफायर खेल्ने भएको छ। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै लगातार छैटौं जित हात पारेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले २० ओभरमा ४ विकेटको नुकसानमा १६९ रन बनायो। ओपनर क्रिस लिनले ५६ बलमा ५ चौका र ३ छक्कासहित ७५ रन बनाएर रिटायर हर्ट भए। आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४–२४ रनसहित नटआउट रहे।
१७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा १२० रनमा समेटियो। चितवनका लागि रवि बोपाराले २९ र देव खानलले २८ रन बनाए। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरका लागि पुनित महराले ३ विकेट लिए भने ऐरी, हिक्मत महरा, अभिनाश बोहोरा र इशान पाण्डेले १–१ विकेट हात पारे।
यो जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोड्दै प्लेअफको पहिलो क्वालिफायर स्थान पक्का गरेको छ। तालिकामा ८ अंकसहित रहेको विराटनगर किङ्स पनि प्लेअफमा पुगेको छ। हाल प्लेअफका ३ टोली—सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किङ्सको टुंगो लागिसकेको छ भने अब १ स्थान बाँकी छ।








प्रतिक्रिया