काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै पाँच जना तत्कालीन मन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ ।
अख्तियारका अनुसार मुद्दा दर्ता प्रक्रिया अहिले विशेष अदालतमै जारी छ । आयोगले यसअघि नै तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएर मुद्दा दायर गर्ने निर्णय गरिसकेको थियो । बोगटीको निधन भइसकेका कारण उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ ।
मुद्दामा भ्रष्टाचारका कारण झन्डै ८ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ । विपक्षी बनाइएकामध्ये १० जना तत्कालीन सचिव पनि छन् । सो प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रति चन्द्र लाल सुमन र परियोजना व्यवस्थापकसमेत रहेका हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारी पनि प्रतिवादीको सूचीमा छन् ।
माओवादी नेता समेत रहेका दिवंगत बोगटी सो समय पर्यटनमन्त्री थिए । कांग्रेस नेता डा. रामशरण महत भने अल्जाइमर रोगका कारण सक्रिय राजनीतिबाट टाढा रहेका छन् । एमाले नेता भीम आचार्य विघटित प्रतिनिधिसभाका सदस्य रहेकाले पछिल्लो समय पार्टीको उपाध्यक्षका दाबेदारका रूपमा हेरिन्छन् । त्यस्तै झलनाथ खनालका स्वकीय सचिव रहिसकेका दीपक अमात्य र खिलराज रेग्मी नेतृत्वको मन्त्रिमण्डलमा प्रचण्डको सिफारिसमा मन्त्री भएका रामकुमार श्रेष्ठ पनि यस प्रकरणमा प्रतिवादी छन् । श्रेष्ठ यसअघि अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका थिए ।
अख्तियारद्वारा दायर गर्न लागिएको मुद्दामा त्यसबेलाका सचिव, प्राविधिक, परियोजनामा संलग्न उच्च अधिकारीलगायत ठुलो संख्या समावेश छन् । आयोगका अनुसन्धानकर्ताको टोली मुद्दा दर्ता प्रक्रियाका लागि विशेष अदालतमै रहेको बताइन्छ ।








प्रतिक्रिया