काठमाडौं । मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा विष मिसाइएको खाना सेवन गर्दा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राई गम्भीर अवस्थामा उपचाररत छन्।
स्थानीयले शनिबार दिउँसो भक्तबहादुरलाई घर नजिकै खोल्सामा बेहोस अवस्थामा भेटेपछि उद्धार गरी घर ल्याएका थिए। घरमा इन्द्रमाया पनि बेहोस अवस्थामा भेटिएपछि दुबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज लगिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उपचारकै क्रममा राति इन्द्रमायाको मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धानमा खानामा विष मिसाइएको आशंका प्रकट भएको प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए। घटनास्थलमा तीनवटा कुखुरा मृत अवस्थामा फेला परेको तथ्यले पनि विषाक्त पदार्थ प्रयोग भएको देखाएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ। प्रहरीले कार्कीले खानामा विष मिसाएको स्वीकारोक्ति दिएको र घटनामा प्रयोग भएको पदार्थको पोष्टमार्टम, फरेन्सिक तथा प्रयोगशाला परीक्षणपछि मात्र प्रकार र कारण पुष्टि हुने जनाएको छ।
घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दा दर्ता गरी कार्कीलाई म्याद थप गरिएको छ।
प्रहरीका अनुसार वृद्ध दम्पतीसँग बस्ने भतिजो घटनाक्रमको समयमा घरबाहिर थिए। पारिवारिक विवाद सम्भावित कारण रहेको अनुमान गरिएको छ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास र चासो बढेको छ। स्थानीयले निष्पक्ष र विस्तृत अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। प्रहरी इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा घटनास्थलको तथ्य–प्रमाण संकलन तथा अन्य अनुसन्धान जारी छ।








प्रतिक्रिया