काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल र ब्याटिङमा दिनेश अधिकारीको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका ओपनर दिनेश अधिकारीले १३ बलमा ३२३ को स्ट्राइक रेटसहित पाँच छक्का र एक चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाए। अर्का ओपनर डार्सी शर्टले १४ रन जोडे।
बलिङतर्फ लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिकसहित ४ विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ लाइन तहसनहस पारे। उनले १२ रन खर्चिए। शेर मल्ल र रुबेन ट्रम्पेलमनले समान ३–३ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर १ बलमा ८५ रनमै अलआउट भयो। सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
लुम्बिनी लायन्सले लिग चरणमा चौथो स्थानमा रहँदै प्लेअफ यात्रा सुरु गरेको थियो। प्लेअफमा काठमाडौँ गोर्खाज र विराटनगर किंग्सलाई पराजित गर्दै फाइनलमा पुगेको लुम्बिनीले उपाधि उचाल्न सफल भयो। लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामै सीमित रह्यो।







प्रतिक्रिया