१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टुकुचा खोला पिउनयोग्य बनाउने लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र निर्माण तीव्र



काठमाडौं।  टुकुचा खोला पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित प्रदूषित पानी स्रोत सफा गर्ने उद्देश्यले फोहर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना सञ्चालनमा रहेको छ।

एसियाली विकास बैङ्क (ADB) को ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भएको हो। आयोजनालाई ५ जुन २०२५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण सम्पन्न भएपछि ५ वर्षसम्म सञ्चालन तथा सेवा अवधि रहने व्यवस्था गरिएको छ।

परियोजनाको ठेक्का Passavant–Kalika–SNET–JV ले लिएको छ भने परामर्शदाताको रूपमा EPTISA SERVICIOUS DE INGENIERIA S.L सहितको संयुक्त टोली संलग्न रहेको छ। यो केन्द्र सञ्चालनमा आएपछि टुकुचा खोलामा मिसिने फोहर पानी प्रशोधन भई वातावरणीय प्रदूषण न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

केही दिनअघि सहरी विकास मन्त्री कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गर्दै निर्माण कार्यको प्रगतिबारे जानकारी लिएका थिए। निरीक्षणका क्रममा मन्त्री घिसिङले समयमै गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए। सरकारले बागमती नदी प्रणालीका सहायक खोलाहरूको संरक्षण र सुधारलाई प्राथमिकतामा राख्दै आएको छ। टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएसँगै शहरी वातावरण सुधार, जनस्वास्थ्य संरक्षण र नदी प्रणाली पुनर्जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ७ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।