भक्तपुर । भक्तपुर जिल्लामा पछिल्लो एक महिनाको अवधिमा १४ वटा जघन्य अपराधका घटना भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले मंसिर महिनाभर जिल्लामा घटेका घटनाको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुका अनुसार मंसिर महिनामा विभिन्न अपराधका घटनामा संलग्न ३७ जना पक्राउ परेका छन् भने १३२ वटा मुद्दा दर्ता भएका छन्।
उनका अनुसार सो अवधिमा आठ वटा लागुऔषधसम्बन्धी, चार वटा जबर्जस्ती करणी तथा दुई वटा मानव बेचबिखनका घटना दर्ता भएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका घटना तुलनात्मक रूपमा बढी देखिएको उनले बताए।
त्यसैगरी आर्थिक अपराधतर्फ बैंकिङ कसुरका मुद्दा सबैभन्दा धेरै रहेको जनाइएको छ। मंसिर महिनामा दर्ता भएका ७१ वटा आर्थिक अपराधमध्ये ६७ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेका छन्।
सार्वजनिक चासोका कर्तव्य ज्यानसम्बन्धी दुई वटा मुद्दामा सफल अनुसन्धान भएको जनाउँदै सूचना अधिकारी जवेजुले फैसला कार्यान्वयनका क्रममा ३७ जनाबाट ३८ लाख १३ हजार ८ सय रुपैयाँ जरिवाना असुल गरिएको बताए। ती मुद्दामा सात वर्ष छ महिना १६ दिनको कैद सजाय फैसला भएको पनि उनले जानकारी दिए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ४९ वटा मुद्दामध्ये ३३ वटामा मिलापत्र भएको छ भने १६ वटा मुद्दाको काम कारबाही बाँकी रहेको प्रहरीले जनाएको छ।
पीडितको उमेर समूहका आधारमा हेर्दा १८ देखि ४० वर्ष उमेर समूहका ३३ जना र ४० देखि ६० वर्ष उमेर समूहका १६ जना रहेका छन्। त्यस्तै पीडकको उमेर समूहमा १८ देखि ४० वर्षका ३६ जना र ४० देखि ६० वर्षसम्मका २० जना रहेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ।
मंसिर महिनामा हराएका आठ जना महिलामध्ये छ जना र सात जना पुरुषमध्ये पाँच जना फेला परेका छन्। हराएका ११ जना बालिकामध्ये सबैलाई फेला पारिएको प्रहरीले जनाएको छ। घरेलु हिंसाअन्तर्गत श्रीमान्–श्रीमतीबीचका २० वटा उजुरीमध्ये ११ वटामा मिलापत्र भएको छ।
ठाडो उजुरीतर्फ २०१ वटा दर्ता भएकामा १६७ वटा फछ्र्यौट भएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका ४४ वटा उजुरीमध्ये ४० वटा फछ्र्यौट भएको प्रहरीले जनाएको छ।
लागुऔषधसम्बन्धी आठ वटा घटनामा १२ जना पक्राउ परेका छन् भने विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको जानकारी दिइएको छ। जिल्ला प्रहरी कार्यालय भक्तपुरले मंसिर महिनामा पाँच वटा आत्महत्याका घटना भएको पनि पुष्टि गरेको छ।







प्रतिक्रिया