काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’ का निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ ले क्यूएफएक्स हलले आफ्नो फिल्मलाई पर्याप्त शो नदिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले पत्रकारसँगको भेटघाटमा बताए अनुसार, देशभर उक्त हलले फिल्मलाई जम्मा ५ शो मात्र दिएको छ।
पाँडेले भने, “सुरुमा थोरै शो दिइयो भनेर आशा गरिएको थियो कि दर्शक बढेपछि शो बढाइनेछ, तर अहिलेसम्म बढाइएको छैन। क्यूएफएक्समा फिल्मले पाएको शो सधैं भरिभराउ छन्। दर्शक भएपछि त शोज थप्नु पर्थ्यो नि।”
उनले यो पनि प्रश्न उठाए कि रिलिज भएका केही हिन्दी फिल्मलाई २०० भन्दा बढी शो दिइएको छ भने, दर्शक भएको नेपाली फिल्मलाई मात्र किन ५ शो दिइएको हो। पाँडेले आफ्नो फिल्मलाई जानाजान कम शो दिएकोमा पनि गुनासो व्यक्त गरेका छन्।
फिल्म ४ पुसदेखि प्रदर्शनमा आएको छ र शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ। निर्देशकका अनुसार, पहिलो सातामा फिल्मले उत्साहजनक व्यवसाय गरेको छ।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्यलगायत कलाकारको अभिनय छ। यस फिल्म मार्फत गणेश उप्रेतीले ९ वर्षपछि र रमेश उप्रेतीले ७ वर्षपछि अभिनयमा कमब्याक गरेका छन्।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा तथा आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ।







प्रतिक्रिया