काठमाडौं । कुकुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएको घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न व्यक्ति काठमाडौंको बल्खु क्षेत्रमा कुकुरमाथि आक्रमण गरेको आरोपमा नियन्त्रणमा लिइएका हुन्।
पशु अधिकारकर्मी स्नेहा श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको सडक कुकुर बन्द्याकरण कार्यक्रमअन्तर्गत कुकुर उठाउने क्रममा उक्त कुकुर गम्भीर घाइते अवस्थामा फेला परेको थियो। टाउकोमा चोट लागेको अवस्थामा कुकुर भेटिएपछि आक्रमण गर्ने व्यक्तिको खोजी सुरु गरिएको उनले बताइन्।
करिब दुईदेखि तीन घण्टाको खोजीपछि कुकुरमाथि कुटपिट गर्ने व्यक्ति पहिचान गरिएको र उनी रिंकु खत्री रहेको खुलेको श्रेष्ठले जानकारी दिइन्। घटनापछि भाग्ने प्रयास गरे पनि उनलाई पुनः नियन्त्रणमा लिइएको हो।
घाइते कुकुर र आरोपित व्यक्तिलाई बल्खुबाट कालीमाटी प्रहरी वृत्तमा लगिएको थियो। कुकुरको अवस्था गम्भीर भएकाले तत्काल उद्धार तथा उपचार आवश्यक रहेको भन्दै पशु अधिकारकर्मीहरूले जाहेरी दर्ताको माग गरेका थिए। प्रारम्भमा प्रहरीले लिखित उजुरी लिन आनाकानी गरेपछि सरकारी वकिल कार्यालयसम्म जाने चेतावनी दिइएपछि जाहेरी दर्ता प्रक्रिया अघि बढाइएको श्रेष्ठको भनाइ छ।
श्रेष्ठका अनुसार प्रहरीले उपचार खर्च लिएर मिलापत्र गर्ने प्रस्तावसमेत गरेको थियो। तर त्यसमा सहमत नभई कानुनी प्रक्रिया अघि बढाइएको उनले बताइन्।







प्रतिक्रिया