१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा अन्डरग्राउन्ड पार्टीको आवरणमा लागुऔषध कारोबार, ९ जना पक्राउ



ललितपुर । ललितपुरको गोदावरी नगरपालिका क्षेत्रमा अन्डरग्राउन्ड पार्टीको आयोजना गरी लागुऔषधको कारोबार गरिएको खुलासा भएको छ। लागुऔषध नियन्त्रण ब्युरोले यस घटनामा संलग्न ६ जना भारतीय नागरिक र ३ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी जनकबहादुर शाहीका अनुसार गोदावरी नगरपालिका–विशंखुनारायणस्थित एक रिसोर्टमा ‘महामाया मन्त्र इभेन्ट’ नाम दिएर अन्डरग्राउन्ड पार्टी आयोजना गरिएको थियो। अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गरिएको उक्त पार्टी ७२ घण्टासम्म निरन्तर सञ्चालन गर्ने तयारी गरिएको थियो।

कार्यक्रममा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचना प्राप्त भएपछि ब्युरोबाट खटिएको टोलीले बुधबार छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

छापाका क्रममा प्रहरीले एलएसडी ६ पिस, गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, एमडिएमए १ पिस तथा म्याजिक मशरूम ४ ग्राम बरामद गरेको जनाएको छ।

पक्राउ पर्ने भारतीय नागरिकहरूमा केभिन जोसेफ, अभिराज कुथाडी, डिमिट्रियोस् कट्टोस्, सदिक, अस्विन अन्तु र वैशनभ के शाजु रहेका छन्। त्यसैगरी नेपाली नागरिकतर्फ चितवनका ३० वर्षीय पुष्पराज परियार, मोरङका २५ वर्षीय मनसुन न्यौपाने र ४० वर्षीय आदित्य अर्याल पक्राउ परेका छन्।

उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ४ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।