१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र विकास बोर्डबाट १५ समिति गठन, परिचयपत्र वितरण



काठमाडौं । चलचित्र विकास बोर्डले कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न १५ वटा विभागीय समिति गठन गरेको छ। समितिका संयोजक तथा सदस्यहरूलाई शुक्रबार आयोजित एक समारोहबीच परिचयपत्र वितरण गरिएको हो।

बोर्डका अध्यक्ष दिनेश डीसी ले समितिका संयोजक तथा सदस्यहरूलाई परिचयपत्र प्रदान गर्दै चलचित्र क्षेत्रको संस्थागत विकास, पारदर्शिता र व्यावसायिक सुदृढीकरणमा समितिहरूको भूमिका महत्वपूर्ण रहने बताए।

उनले भने, “चलचित्रकर्मी नै नेपाली चलचित्र उद्योगको मेरुदण्ड हुन्। उनीहरूको सिर्जना, श्रम र समर्पणलाई सम्मान र संरक्षण गर्नु बोर्डको प्राथमिक दायित्व हो।” समितिहरू सक्रिय रूपमा क्रियाशील भए चलचित्रकर्मीले अवसर, सुरक्षा र सम्मान एकसाथ महसुस गर्ने वातावरण तयार हुने उनले धारणा राखे।

परिचयपत्र प्रदान गरिएका समितिहरूमा छात्रवृत्ति छनोट सिफारिस समिति, बक्सअफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति, आर्थिक सहयोग सिफारिस समिति, महिला चलचित्रकर्मी सशक्तिकरण समिति, चलचित्र प्रदर्शन अनुगमन समिति, कथा संग्रहालय (स्टोरी बैंक) मूल्याङ्कन तथा छनोट समिति, मोफसलका चलचित्र मूल्याङ्कन तथा छनोट समिति, कार्यविधि मस्यौदा समिति, चलचित्रघर स्तरोन्नति तथा प्रोत्साहन मूल्याङ्कन समिति, प्रकाशन तथा प्रचार–प्रसार समिति, चलचित्र डिजिटाइजेसन सिफारिस समिति, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति, चलचित्रकर्मी छायाङ्कन अवधिको बीमा कार्यक्रम सञ्चालन समिति तथा चलचित्रकर्मी कल्याण कोष सञ्चालन समिति रहेका छन्।

कार्यक्रममा बोर्ड सदस्यहरू, समितिका संयोजक तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। परिचयपत्र वितरणसँगै सबै समितिहरू औपचारिक रूपमा क्रियाशील हुने बोर्डले जनाएको छ।

बोर्डका अनुसार समितिहरूको सक्रियताले नेपाली चलचित्र क्षेत्रको नीति निर्माण, प्रवद्र्धन, संरक्षण तथा चलचित्रकर्मी कल्याणसम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ९ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।