काठमाडौं । प्रहरीले कारागारबाट फरार प्रतिवादीसहित मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला सिन्जा गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–११ डाँडागाउँ हिलेटोलमा डेरा गरी बस्दै आएका २० वर्षीय हरिशङ्कर शर्मा र काठमाडौँ महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार शर्माको डेरामा लुकीछिपी बसिरहेको अवस्थामा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट चोरी मुद्दामा फरार रहेका प्रतिवादी रोहित खड्गी शाहीलाई प्रहरीले फेला पारेको हो।
प्रहरीले शर्माकै कोठाबाट काठमाडौँ वसुन्धराबाट चोरी भएको लु५८प ३९७५ नम्बरको रातो रङको एफजेड मोटरसाइकल, भक्तपुर ठिमी क्षेत्रबाट चोरी भएको केटिएम डुक मोटरसाइकल (वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०६२५ ६३७० हटाई बागमती प्रदेश ०२–०६० प ९७८६ नम्बरको नक्कली नम्बर प्लेट जडान गरिएको) तथा सामसुङ कम्पनीको एक थान मोबाइलसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले सुनका गरगहनालगायतका सामान चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्दै आएका २२ वर्षीय मनोज थापा रहेका छन्।
प्रवक्ता भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित एक कोठाबाट सुन, मोबाइल र घडीलगायतका धनमाल चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा थापाको घर खानतलासी गर्दा सुनका सामानसहित उनलाई पक्राउ गरिएको हो।
थापाको घरबाट सुनजस्तै देखिने पहेँलो धातुले बनेको पोतेसहितको तिलहरी एक थान, औँठी एक थान, आइफोन एक थान, सामसुङ कम्पनीको आइप्याड एक थान, रियलमी कम्पनीको मोबाइल एक थान, आइटेल लेखिएको की–प्याड मोबाइल एक थान, गितार दुई थान, क्यासियो लेखिएको घडी एक थान तथा पाइनिङ लेखिएको पावर ब्याङ्क एक थान बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।







प्रतिक्रिया