काठमाडौं । टोखा नगरपालिका–९ गोंगबुस्थित शिवमन्दिर नजिक रहेको होटल दीप सागर बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने खैरो धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार मिति २०८२ साल ९ महिना २२ गते बिहान करिब १ः२० बजे होटलको साढे पाँचतले पक्की भवनको तेस्रो तल्लामा रहेको कोठा नम्बर ५१५ मा लागूऔषधसहित व्यक्तिहरू रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल त्यहाँ पुगेको थियो।
प्रहरीले कोठामा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ तथा खानतलासी गर्दा झ्यालको पर्दा राख्ने पाइपभित्र लुकाइछिपाइ राखिएको खैरो हेरोइन जस्तो देखिने डल्लो पदार्थ फेला पारेको जनाएको छ। बरामद पदार्थलाई मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित ७.२१ ग्राम र प्लास्टिक बाहेक ६.४४ ग्राम रहेको पाइएको छ।
बरामद कार्य स्थानीय व्यक्तिहरूको रोहबरमा कानून बमोजिम गरिएको र घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौं चाबहिल बस्दै आएका २६ वर्षीय महेन्द्र तामाङ,
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका स्थायी घर भई हाल टोखा नगरपालिका–९ दिपज्योती बस्दै आएकी २२ वर्षीया निरुता अदेही मगर रहेका छन्।
प्रहरीले लागूऔषध सम्बन्धी कसूरमा उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।







प्रतिक्रिया