काठमाडौं । बाग्लुङ घर भई काठमाडौंको मित्रनगरमा बस्दै आएका ३७ वर्षीय दिपेन्द्र शर्माले पकेटमारी भएको भन्दै दिएको निवेदनपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
मिति २०८२/०९/२३ गते बिहान करिब ११ बजे शर्माले आफूले बोकेको कालो रङको साइड ब्यागभित्र राखिएको नगद २ लाख ७५ हजार रुपैयाँ हराएको जानकारी गराएका थिए। उक्त घटनाबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले सोही दिन बेलुकी करिब ५ बजे पकेटमारी कार्यमा संलग्न चार जनालाई उपलब्ध स्रोत–साधन र प्रविधिको प्रयोग गरी पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्नेमा ३७ वर्षीय सरोज खड्का, ४२ वर्षीय विकास लामा, ३३ वर्षीय राजु गुरुङ र ३३ वर्षीय सुवास मगर रहेका छन्। प्रहरीले उनीहरूको साथबाट हराएको नगद रकमसहित अन्य सामग्रीसमेत बरामद गरेको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।







प्रतिक्रिया