२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ऊनको स्वीटर’ भारतका विभिन्न हलमा ५१औं दिनसम्म निरन्तर प्रर्दशन



 

काठमाडौं

चलचित्र ‘ऊनको स्वीटर’ भारतका विभिन्न हलमा ५१औं दिनसम्म निरन्तर प्रर्दशन हुन सफल भएको छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार यस चलचित्रले भारतमा ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेर इतिहाँस रचेको हो । चलचित्र भारतभर ४० वटा हलमा प्रर्दशन भएको थियो ।

५१ दिनसम्म लगातार प्रदर्शनमा चलचित्र चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल ५१ औं पार गरेको हो ।

 

चलचित्र ‘ऊनको स्वीटर’ नेपालको बक्स अफिस सफलता हासिल गर्दै ५१ दिनसम्म ४० भन्दा बढी हलमा प्रदर्शन भई करिब १२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

यस चलचित्रको भारत यात्रा सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोबाट सुरु भएको थियो। प्रारम्भिक शोहरूबाट चलचित्र हाउसफुल चलेको थियो।

 

गान्तोकबाट सुरु भएको चलचित्रको प्रर्दशनी नाम्ची, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ र सिलिगुडी हुँदै पूर्वोत्तर भारतमा बलियो पकड बनायो। त्यसपछि चलचित्र आसामका गुवाहाटी, तेजपुर, विश्वनाथ चाराली, मार्गेरिटा तथा अरुणान्चल प्रदेशको ईटानगरसम्म विस्तार भयो। कोलकाताका हलहरूमा चलचित्रले आफ्नै दर्शक वर्ग बनाएको छ भने दिल्लीमा नयाँ दर्शक पायो।

 

पूर्वोत्तर र उत्तर भारतमा पाएको सफलतापछि ‘ऊनको स्वीटर’ महाराष्ट्रको मुम्बईदेखि दक्षिण भारतसम्म पुग्न सफल भयो। केरला, बैंगलोर र हैदराबाद जस्ता सहरहरूमा भाषा फरक भए पनि भावनात्मक अनुभूति एउटै रहेको प्रतिक्रिया दर्शकबाट आएको निर्देशक नवीन चौहानले बताएका छन्।

 

पश्चिम र उत्तर भारततर्फ मुम्बई, पुणे, चण्डिगढ, लुधियाना, शिम्ला, देहरादून र लखनउसम्म पुगेको यो यात्राले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारको सम्भावना देखाएको निर्देशक चौहानको भनाइ छ। ५१ दिनको सफलतापछि उनले भनेका छन्, “नोभेम्बर २१ बाट सुरु भएको यात्राले पहिला हिमाल छोयो, त्यसपछि पूर्व, दक्षिण, पश्चिम र उत्तर भारतसम्म फैलियो। भाषा फरक थियो, तर अनुभूति एउटै रह्यो।”

 

यस चलचित्रमा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ। भारतमा ‘ऊनको स्वीटर’ लाई एसली प्रोडक्सन र एवन राई समूह ले रिलिज गरेका हुन्। भारत प्रदर्शनका क्रममा निर्देशक चौहानसँगै गायक सुजन चापागाईँ पनि लामो समय भारतमै रहेका थिए।

 

निर्माण संस्था आर्टमान्डू नेपाल प्रा.लि. ले भारत तथा नेपालभरका दर्शक र साझेदारप्रति आभार व्यक्त गर्दै ‘ऊनको स्वीटर’ को अन्तर्राष्ट्रिय यात्राले नेपाली चलचित्रलाई नयाँ बजार र पहिचान दिलाएको विश्वास व्यक्त गरेको छ।

 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ८ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।