१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा सुरु, संस्थापन पक्ष अनुपस्थित



काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ। विशेष महाधिवेशनको उद्घाटन पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका हुन्।

पुस २७ र २८ गतेसम्म सञ्चालन हुने विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भेला भई र्‍याली, बाजागाजा र झाँकीसहित आयोजनास्थल प्रवेश गरेका थिए।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा बृहत् मञ्चको व्यवस्था गरिएको छ। मञ्च अगाडि हजारौँ नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ। मञ्च वरिपरि कांग्रेसका झण्डा, गेट, ब्यानर तथा विभिन्न प्रचारप्रसार सामग्री राखी सजाइएको छ। विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँले गरेका थिए।

विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र पुस २८ गते बिहानदेखि भृकुटीमण्डपस्थित सभाहलमा सञ्चालन हुने जनाइएको छ। यसअघि गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिएको थियो।

यद्यपि विशेष महाधिवेशनका सन्दर्भमा पार्टीको संस्थापन पक्षले असहमति जनाउँदै आएको छ। नियमित महाधिवेशनको तालिका तय भइसकेको र प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको संस्थापन पक्षको दाबी छ। यस कारण संस्थापन पक्षका नेता तथा कार्यकर्ता विशेष महाधिवेशनमा सहभागी भएका छैनन्।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।