२७ पुस २०८२, आइतबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चुनावी सरकार हुनु लोकतन्त्रका लागि विडम्बना हो : राजेश हमाल



विराटनगर । महानायक राजेश हमालले जननिर्वाचित सरकारको साटो चुनावी सरकार सञ्चालन हुनु लोकतन्त्रका लागि विडम्बनापूर्ण भएको बताएका छन्। झापाको बिर्तामोडमा इस्टर्न सहारा कम्पनी लिमिटेडको तेस्रो साधारण सभामा बोल्दै उनले लोकतान्त्रिक व्यवस्थामा जननिर्वाचित सरकार नै अनिवार्य हुने धारणा राखे।

हमालले केही समयपछि हुने निर्वाचनले जननिर्वाचित सरकार गठन गर्ने विश्वास व्यक्त गर्दै अहिले निर्णय गर्ने शक्ति जनसमुदायकै हातमा रहेको बताए। “अहिले जनसमुदायको कोर्टमा बल छ, अब निर्णय गर्ने जिम्मा तपाईंहरूको हो,” उनले भने।

देश कस्तो बनाउने र विद्यमान समस्याहरू कसरी समाधान गर्ने भन्ने विषयमा गम्भीर सोचविचार गरेर जनप्रतिनिधि छनोट गर्नुपर्नेमा उनले जोड दिए। विगतमा नेतृत्वमा पुगेकाहरूलाई पनि जनताले नै चुनेको स्मरण गराउँदै उनले भने, “धेरैले भन्छन्– पुरानाहरूले केही गरेनन्। तर उनीहरूलाई हामीले नै छानेका होइनौँ र ?”

हमालले सरकारको नेतृत्वमा पुगेकाहरू पनि प्रणालीभित्रबाटै आएको उल्लेख गर्दै प्रणाली सुधार्न जनसमुदायको भूमिका निर्णायक हुने बताए। “प्रणाली कस्तो छ भन्ने होइन, प्रणालीभित्र कसरी काम गरिन्छ भन्ने कुरा मुख्य हो,” उनले भने।

नयाँ नेताहरूले पुरानाहरूलाई दोषारोपण गर्ने प्रवृत्तिप्रति टिप्पणी गर्दै हमालले आलोचना मात्र गरेर देश नबन्ने बताए। “पुरानाले गरेनन् भन्नुभन्दा हामी यसरी गर्छौँ भनेर योजना लिएर आउनुपर्छ,” उनले जोड दिए।

देशमा धेरै प्रकारका समस्या रहेको उल्लेख गर्दै उनले ती समस्या एकैचोटि समाधान गर्ने दाबीभन्दा चरणबद्ध रूपमा समाधान खोज्नुपर्ने बताए। “५ वर्ष वा १० वर्षमा सबै समाधान गर्छु भन्ने आए भने सोध्नुपर्छ– कसरी ?” भन्दै उनले कुनै पनि काम सफल बनाउन स्पष्ट योजना आवश्यक हुने बताए।

देश निर्माणका लागि जनताले समस्या देखेर चुप लागेर बस्न नहुने र सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा पनि अभिनेता हमालले जोड दिएका छन्।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।