काठमाडौं
म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा लाइभ म्युजिक प्रस्तुत गरेको छ । शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’ले लाइभ म्युजिक प्रस्तुत गरेको हो ।
नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको ‘कुटुम्ब’ले ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा साँझ करिब ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।
कार्यक्रममा ‘कुटुम्ब’ले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुनहरू प्रस्तुत गरेको थियो । रैथाने धुनहरूसँगै कुटुम्बले लोकप्रिय गीतका टुक्राहरू प्रस्तुत गर्दा दर्शक झुमेका थिए । कुटुम्बको मौलिक धुनमा लोकप्रिय गीतका टुक्राहरू मिसाउँदा प्रस्तुति विशेष बनेको थियो ।
बेलाबेलामा आफूले प्रस्तुत गरेको धुन, त्यसको महत्वबारे प्रष्ट पार्दै ब्यान्ड मेम्बरले प्रस्तुति दिइरहँदा नेवारी रैथाने गीतसंगीतको प्रवद्र्धन पनि भइरहेको थियो ।
कलाभित्र पब्लिसिटीलाई सुटुक्क छिराउँदै व्यान्ड मेम्बरले माइकमार्फत काठमाडौंभित्रै शान्त र सुन्दर स्थान ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ स्वर्गको सानो टुक्रा भएको महसुस गरिरहेको बताइरहँदा दर्शकले कुटुम्बलाई भव्य तालीले साथ दिइरहेका थिए ।
“हाम्रो मुख्य उद्देश्य नै नेपाली मौलिक नेवारी कल्चरलाई प्रवद्र्धन गर्दै हाम्रो रिसोर्टबारे जानकारी गराउनु पनि थियो । हामी हाम्रो संगीतलाई बिस्तारै भुल्दै पश्चिमी संगीतमा रमाइरहँदा हाम्रो आफ्नै भव्य र सभ्य मौलिक संगीत पनि छ है भन्ने हो,” २९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालक मध्येका एक दिमेश श्रेष्ठले भने, “गीतसंगीत र बिजनेसलाई यसैगरी टाइअप गर्दै लैजानुपर्छ । नेपाली गीतसंगीतलाई कर्पोरेटसँग जोड्दै जान सकियो भने नेपाली मौलिक संगीत थप विस्तार हुँदै जानेछ ।”
कन्सर्टमा प्रवेशका लागि टिकट मूल्य ५०० रुपैयाँ तोकिएको थियो ।
दिमेशसँगै किरण श्रेष्ठ, सुशान्त श्रेष्ठ र कुमार श्रेष्ठको करिब चार करोड रुपैयाँको लगानीमा निर्माण भएको २९ रिसोर्ट एन्ड फार्म हाउस गत वर्षदेखि सञ्चालनमा आएको हो ।








प्रतिक्रिया