२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा ४ हजार ३ सय ४१ एम्पुल लागुऔषधसहित ३ जना पक्राउ



काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४ हजार ३ सय ४१ एम्पुल लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पुस २६ गते काठमाडौं महानगरपालिका–६ बौद्धस्थित समता अस्पताल नजिक लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले कारबाही गरेको हो।

उक्त कारबाहीका क्रममा बौद्ध टुसाल बस्ने ४१ वर्षीय निर्मल लामा (पाण्डे) र बौद्ध च्याल्दुङ गल्ली बस्ने ५१ वर्षीय अर्जुन तामाङ (घैटे)को साथबाट फेनरागन, डाइजापाम, नोर्फिन र ब्रोफिम गरी जम्मा २४७ एम्पुल लागुऔषध तथा नगद २२ हजार ७८० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–५ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्दै आएका ४२ वर्षीय रामराज गिरीको साथबाट फेनरागन, नोर्फिन, डाइजापाम र बुप्रेनोर्फिन गरी ४ हजार ९४ एम्पुल लागुऔषध बरामद गरिएको छ।

बरामद लागुऔषधको कुल संख्या ४ हजार ३ सय ४१ एम्पुल पुगेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार लागुऔषध कारोबार नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिइनेछ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।