२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर ठेचोमा करेन्ट लागेर युवकको मृत्यु, एक जना पक्राउ



ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा तरकारी खेतीका लागि बनाइएको टनेलमा जडान गरिएको तारबारमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।

घटना पुस २६ गते राति करिब ९:४० बजे भएको हो। हर्कजित लिम्बुले जग्गा भाडामा लिएर बनाएको टनेलमा तरकारी खेती गर्ने क्रममा तारबारमा विद्युत् प्रवाह गरिएको थियो। सोही स्थानमा पुगेका मकवानपुर जिल्ला घर भई हाल गोदावरी–१२ ठेचोमा बस्दै आएका २५ वर्षीय भिमबहादुर गोले करेन्ट लागेर अचेत अवस्थामा लडिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले घाइते अवस्थाका गोलेलाई तत्काल उद्धार गरी एम्बुलेन्समार्फत पाटन अस्पताल पुर्‍याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रारम्भिक अनुसन्धानबाट टनेलमा लगाइएको तारमा करेन्ट प्रवाह गरिएको कारण करेन्ट लागी गम्भीर घाइते भएका गोलेको सोही चोटपटकका कारण मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा प्रहरीले इलाम जिल्ला माङ्सेबुङ गाउँपालिका–२ पौवा स्थायी वतन भई हाल गोदावरी–१२ ठेचोमा बस्दै आएका ५२ वर्षीय हर्कजित लिम्बुलाई मिति २०८२/०९/२७ गते पक्राउ गरेको छ।

पक्राउ परेका लिम्बुविरुद्ध ज्यान सम्बन्धी कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।