भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–९ साँगा झोलुङ्गे पुल नजिकै बुधबार दिउँसो बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दुर्घटनामा बा.प्र. ०२–०४५ प १४२१ नम्बरको स्कुटरमा सवार ६० वर्षीय दिलबहादुर ठकुरीको मृत्यु भएको हो। काठमाडौँको बुढानिलकण्ठ निवासी ठकुरीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बा.प्र. ०१–००६ ख ४८९४ नम्बरको बस र स्कुटर साँगा झोलुङ्गे पुल नजिकै ठोक्किएका थिए। दुर्घटनामा घाइते भएका स्कुटर चालकको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।







प्रतिक्रिया