१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज जुधाइयो एक सय हल गोरु, रमितेको भीड



मलेखु (धादिङ)
माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल गोरु जुधाइएको छ । कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो । गोरु जुधाई यहाँ रमितेको भीड देखिएको थियो ।
त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४, लाइगाउँमा १०, नीलकण्ठ नगरपालिकाको धुवाकोट ९, खाल्टेमा सात, मस्र्याङछापमा पाँच, सुनौलाबजारमा आठ, खनियाबासको दार्खा १७, मार्पकमा चार, फुलखर्कमा ११, बुढाथुममा नौ र ज्वालामुखीको मैदीमा छ हल गोरु जुधाइएको आयोजकहरुले जानकारी दिएका छन् ।

जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व जोडिएको मूलपानीका शम्भु थापाले बताए । रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बतबीचको भोट सन्धी १९४९ सँग जोडिएको छ । बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका निम्ति माघे सङ्क्रान्तिका दिन गोरु जुधाएर थालनी गरिएको किम्बदन्ती रही आएको जानकारहरु बताउँछन् ।

बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढे गोरुहरू जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ । पहिला पहिला छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए । अहिले प्रतियोगिताका रुपमा गोरु जुधाइँदै आएको छ ।

कुन साँढे गोरु कुनसँग जुधाउने, उमेर र आकार निक्र्यौल गरिन्छ । प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्काे पक्षकाले जितेको ठहरिन्छ । वर्खाभरि खेतबारी जोत्ने र हिउँदमा बलियो बनाएर पालेको गोरुलाई किसानले मनोरञ्जनका लागि झुधाउँदै आएकामा पछिल्लो वर्षहरुमा प्रतियोगिताको रुपमा जुधाउने गरिएको हो । मनोरञ्जन, भेटघाट र मित्रता नवीकरण गर्ने अवसरका रुपमा विकसित हुँदै आएको मैदीकी सुशीला विश्वकर्माले जानकारी दिएका छन् ।

ऐतिहासिक प्रमाण नभेटिए गोरु जुधाइ परम्परा १ सय वर्षभन्दा पुरानो मानिन्छ । माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ ।

 

प्रकाशित मिति : २ माघ २०८२, बिहिबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।