६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सालिनदी माधव नारायणका ब्रतालु पुगे फर्पिङ



काठमाडौँ 
साँखु शालिनदीस्थित माधव नारायणका बर्तालु तीर्थयात्रा गर्दै दक्षिणकाली नगरपालिकाको फर्पिङस्थित शेषनारायण पुगेका छन् ।
माघकृष्ण औँसीका दिन आज बिहान आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरी बर्तालु यात्रामा निस्किएका थिए । ती बर्तालु शनिबार साँझ पशुपति क्षेत्रमा बसेका थिए । बिहान स्नान गरेर पशुपतिनाथको दर्शन गरी फर्पिङ आएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिएका छन् ।
पशुपतिनाथको दर्शनपछि बर्तालुले ताम्रेश्वरमा पुगी अघ्र्यदान गरेका छन् । बर्तालु सिंहदरबार हुँदै फर्पिङस्थित शेषनारायणमा गएर बास बसेको उनले बताएका छन् । माधवनारायणलाई भने नारायणहिटी दरबार क्षेत्रमा रहेको नारायण मन्दिरमा दर्शन गराएर भोटाहिटी र हनुमानढोका दरबार क्षेत्रमा पूजा गरी टेकु हुँदै शेषनारायण लगिएको हो । राजसंस्था हुञ्जेलसम्म नारायणहिटी दरबारमा राजालाई पनि माधवनारायणको दर्शन गराउने परम्परा थियो ।
शनिबार अर्थात् माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका बर्तालुले तीर्थयात्रा सुरु गरेका हुन् । शनिबार बिहान साँखुबाट बज्रयोगिनी माईको दर्शन गरी साँखु आएर बर्तालुले भोजन गरेका थिए । भोजनपछि पैदल हिँडेर बर्तालु शनिबार बेलुकी पशुपति क्षेत्र आइपुगेका थिए ।
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधव नारायण बर्त माघ शुक्ल पूर्णिमासम्म चल्छ । बर्तमा यस वर्ष महिला र पुरुष गरी २ सय जना व्रत बसेका छन् । माघ महिनामा माधव नारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ६ माघ २०८२, सोमबार  १२ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।