१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


अस्पतालमा राखिएको शव अर्कैले लिएर दाहसंस्कार गरेपछि विरोध प्रर्दशन



सिरहा

लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्यष्टि गरेको हो ।

शव हराएको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्दै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी दोषीलाई कारबाही र न्यायको मागसमेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकार भएका पक्षबीच वार्ताको तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझाएको तथ्य खुलेको छ ।

रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर सुनेलगत्तै नेपाल फर्किए । आज बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा त्यहाँ शव फेला पारेनन् ।

अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर शव लिएको र सोही दिन अन्त्येष्टिसमेत गरिसकेको खुलेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले शव राख्ने क्रममा ‘कोडिङ’ नगरिएका कारण कर्मचारीबाट गल्ती भएको स्वीकार गरेका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा झाले भने, “यो अस्पताल प्रशासनको गम्भीर लापर्बाही हो, यसको छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ ।”

छोरीको अन्तिम पटक मुख देख्नसमेत नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल भएका छन् । उनले भने, “छोरीलाई समयमै बचाउन सकिएन, सास हुँदा देख्न पनि पाइएन, कम्तीमा लास त हेर्न पाइएला कि भनेर अर्को देशबाट आयौँ तर अस्पतालको लापर्बाहीले त्यो पनि सम्भव भएन ।”

 

प्रकाशित मिति : १३ माघ २०८२, सोमबार  ८ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।