२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


खोकनामा अझै पेलिन्छ तीन सय वर्षे पुरानो परम्परागत प्रविधिबाट काठको कोलबाट तेल



ललितपुर
ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ तेल मिल अहिले पनि तेल पेल्ने गरेको पाइएको छ । तीन सय वर्ष पुरानो काठको मिललाई स्थानीय कान्छा महर्जनले निरन्तरता दिँदै आएका छने । स्थानीय महर्जनका अनुसार कोलबाट पेलिएको शुद्ध तोरीको तेल स्वदेशका साथै विदेशसम्म पठाउने गरिएको छ ।
मल्लकालमा खोकनामा चारवटा ऐतिहासिक काठका तेल मिल सञ्चालनमा थिए । समयसँगै तीमध्ये तीन बन्द भए पनि एउटा मिलले पुरानो परम्परालाई जीवित राखेको छ । बाँकी तीनवटै ऐतिहासिक मिल पुनः सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाको पहलमा भवन निर्माण प्रक्रिया अघि बढेको छ ।
शुद्ध तोरीको तेल र ऐतिहासिक कोलका कारण खोकनामा विदेशी पर्यटकसमेत अवलोकनका लागि आउने गरेका महर्जनले बताएका छन् । खोकना प्रवेश गर्ने वित्तिकै आधुनिक प्रविधिबाट तेल उत्पादन गर्ने युवा व्यावसायिका तेल मिल र साइनबोर्डहरू देखिन्छन् ।
खानोमी तेल मिलका सञ्चालक पवित्रकुमार डङ्गोलका अनुसार खोकनामा हाल १० देखि १५ वटा तेल मिल सञ्चालनमा छन् । पहिले सामुदायिक रूपमा काठको कोलबाट तेल उत्पादन गरिए पनि लागत महँगो र जनशक्ति बढी आवश्यक पर्ने भएकाले अहिले अधिकांश व्यवसायीले आधुनिक मिलको प्रयोग गर्न थालेका उनले बताएका छन् ।
पहिले खोकनाका स्थानीयले आफैँं तोरी उत्पादन गर्ने गरेकामा अहिले तोरीखेती घटेको छ । डुङ्गोलका अनुसार पहिले खोकनावासी तेल र तोरी साट्न भक्तपुर, काठमाडौँ, मकवानपुर र नुवाकोटसम्म पुग्ने गर्दथे । अहिले भने नेपालमा उत्पादन हुने तोरीले बजार धान्न नसक्दा भारत, युक्रेनलगायत देशबाट आयात गरेर तेल उत्पादन गरिँदै आइएको उनले जानकारी दिएका छन् ।
ऐतिहासिक रूपमा तोरी उत्पादन र शुद्ध तोरीको तेलका लागि चिनिँदै आएको खोकना आज पनि यही पहिचानका कारण बजारमा लोकप्रिय छ । आधुनिक प्रविधि र पुरानो काठको कोल दुवैको सहअस्तित्वले खोकनाको तेल परम्परा जोगाइरहेको स्थानीयको विश्वास छ ।
ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २६ माघ २०८२, आइतबार  १२ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।