२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बजारमा अण्डाको मूल्य घट्यो



चितवन
बजारमा अहिले अण्डाको मूल्य सस्तो भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ । नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिएका छन् ।

अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३ सय ७५ र मिडियम रु ३ सय ३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट रु ४ सय ३५ र मिडियम रु ४ सय ५ रहेको थियो । माघ ११ गते ठूलो अण्डा रु ४ सय ९५ र मिडियम रु ४ सय ७५ पुगेको थियो ।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५ सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रु ५ सय ५० थियो । सङ्घका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो । भारतीय अण्डा रोक्न सङ्घले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उनले जानकारी दिएका छन् ।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यस आधारमा लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका बनेका छन् ।

सङ्घले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

प्रकाशित मिति : २६ माघ २०८२, आइतबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।