५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


देविचौरमा उम्मेदवार चेतनाथसँग थुप्रै अपेक्षा



 

ललितपुर

ललितपुर क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेको चेतनाथ सञ्जेल आइतबार दक्षिण ललितपुरको देविचौरमा भोट माग्न पुगे । घरदैलोमा भोट माग्न जाँदा उनी स्थानीयको प्रश्नहरुले घेरिएका छन् । उम्मेदवार सञ्जेलसँगै गाँउलेहरुले थुप्रै अपेक्षा राखेर समस्या सुनाएका हुन् ।

स्थानीयहरुले विकास निर्माणसँगै वैदेशिक रोजगारीमा युवाहरु जाने परिस्थिती रोकिदिन आग्रह गरे । मतदाताहरुले गाउँमै रोजगारीको अवसर, देविचौरमा पर्यटनलाई प्राथमिकता दिएर होमस्टेलाई प्राथमिकता दिनुपर्ने, खानेपानीको, सडक र यातायातको स्तरोन्नतीको अपेक्षा राखेका छन् । दक्षिण ललितपुरको भूगोल चिन्ने नेता भएको नाताले सञ्जेलले यहाँको समस्या बुझ्ने भन्दै गुनासो पोखेका हुन् ।

घरदैलोमा पुग्दा स्थानीयहरुले आफूहरुले भोट हालेर धेरै नेताहरुलाई सिंहदरवार पठाएको भए पनि गाँउलेहरुले भोग्नु परेको समस्या कसैले नबुझेको उनीहरुको भनाई थियो । उनीहरुले दक्षिण ललितपुरमा दिगो र ठूला विकासको परियोजना नहुँदा जनताको जीवन जस्ताको त्यस्तै रहेको दुखेसो सुनाए । कतिपयले अब पनि जनताको जीवन बदल्ने गरि विकास नभए जनताले सोच्ने अवस्था आउने घुर्की लगाए ।

६७ वर्षका स्थानीय प्रेमबहादुर थिङ राम्रो होमस्टे बनाउन सके, यही रोजगारीको अवसर बन्ने आशा पालेर बसेका रहेछन् । स्थानीय माइली तामाङले स्थानीय उत्पादनले नपाएको दुखेसो पोखिन् । शरीर सुन्निने ब्यथाले थलिएकी साँहिली लोप्चनले अस्पतालहरुमा उपचार महँगो भएको गुनासो गर्दै राज्यले आफूलाई सहयोग गरोस् भन्ने अपेक्षा राखिन् ।

दमका रोगले पीडित बद्रिप्रसाद तिमल्सीना भने उम्मेदवार सञ्जेलले विकासको काम गर्नसक्ने आशा रहेको भन्दै खुशी व्यक्त गरे । उता नेपाली सेनामा अवकाश पाएका कुमार तामाङ उम्मेद्वार चेतनाथको विजय सुनिश्चित रहेको भन्दै राम्रो काम गर्न सल्लाह दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।