८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ’जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको प्रवेश



काठमाडौं

चलचित्र ’जिरो डिग्री’मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन्।
निर्माण पक्षले चलचित्रको मुख्य महिला पात्रको भूमिकाका लागि सनिशालाई चयन गरेको हो।
छायाङ्कनमा निस्कने तयारीमा रहेको यस चलचित्रको हालै मात्र ’अरे हो नेता जी’ बोलको व्यङ्ग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको थियो ।

यस चलचित्रमा अब सनिशाको प्रवेशसँगै कलाकारहरूको लाइनअप थप बलियो बनेको छ। रङ्गमञ्च तथा चलचित्रमा सशक्त अभिनयका लागि परिचित अभिनेता विजय बराल मुख्य भूमिकामा रहेको यस चलचित्रमा अब सनिशा र विजयको जोडीलाई पर्दामा देखिने हो वा अन्य भूमिका त्यो भने खुलाइएको छैन।

चलचित्रको प्रचारप्रसार स्वरूप केही दिनअघि मात्र अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारीको स्वरमा रहेको ’अरे हो नेता जी’ गीत सार्वजनिक गरिएको थियो। युवराज काफ्लेको शब्द र अङ्कित बाबु अधिकारीकै सङ्गीत रहेको उक्त गीतमा समसामयिक राजनीति र विकासको नाममा गरिने टालटुले प्रवृत्तिमाथि तिखो व्यङ्ग्य गरिएको छ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको ’जिरो डिग्री’ डार्क कमेडी जनरामा आधारित चलचित्र हो। यसको कथावस्तु निकै मौलिक छ। सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा, आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ’डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने परिस्थिति र उथलपुथलपूर्ण घटनाहरूमा चलचित्र केन्द्रित रहनेछ।

चलचित्रको निर्देशन तथा पटकथा आकास बराल र साजन काफ्लेले संयुक्त रूपमा गर्दैछन्। कथाकार राजन भुसालले चलचित्रमा अभिनय समेत गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन्। निशाल पौडेलले छायाङ्कन गर्ने यस चलचित्रको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  २ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।