१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका विभिन्न स्थानमा प्राचीन नाम पहिचान गर्दै महानगर



 

काठमाडौँ

काठमाडौं महानगरले विभिन्न स्थानमा प्राचीन नाम पहिचान गरेको छ ।

काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५ सय ९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जानकारी दिएको छ । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि दुई चरणमा गरेको अध्ययनबाट ४ सय ३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन गरेको महानगर सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् ।

त्यसैगरी, तेस्रो चरणमा थप आठवटा वडाको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यससम्बन्धी जानकारी दिइएको हो । तेस्रो चरणको अध्ययनका लागि कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशन रिजा जोशीले हस्ताक्षर गरेका हुन् । यस चरणमा वडा नं १२, १३, १५, २१, २२, २३, २७ र २८ का बस्ती तथा स्थानको मौलिक नामको अध्ययन गरिने राईले जानकारी दिइन् ।

सम्झौता अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, नाम केवल बोलाउनका लागि प्रयोग गरिने शब्दमात्र नभएको बताइन् । “हरेक नामको पछाडि केही न केही तथ्य हुन्छ । इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा हुन्छ । यसकारण नाम राख्ने र प्रचलनमा ल्याउने कामलाई हलुका रूपमा लिन हुँदैन,” नामसम्बन्धी परिचय पाटी राख्ने विषय उठाउँदै उनले भनिन्, “परिचय पाटी राख्दा दृश्य प्रदूषण हुनेगरी नराख्नुहोला । सकेसम्म पहिलेकै ठाउँमा राख्नुहोला । नत्र भए हेर्दा आँखा नबिझाउने, अरुलाई असर नपार्ने ठाउँमा राख्नुहोला ।”

विभागका प्रमुख राईका अनुसार यसअघि पहिलो चरणमा वडा नं ५, ६, ७, १८, २४ को र दोस्रो चरणमा वडा नं ८, १७, १९, २०, र २५ मा अध्ययन भइसकेको छ । अध्ययनका क्रममा वडाभित्र भएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वमा आधारित स्थान तथा बस्तीको मौलिक एवं प्राचीन नामकरणसम्बन्धी अध्ययन तथा अभिलेखीकरण भएको बताइन् ।

अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ । यसरी पहिचान गरिएको नामलाई स्थानीयवासी, समुदाय, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गराइन्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ८ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।