काठमाडौं
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा चलचित्र ‘पाँच पाण्डव’मा दुई कलाकारहरु प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको छ।
चलचित्र ‘पाँच पाण्डव’ को पछिल्लो समय झापामा छायांकन भइरहेको छ ।
छायांकनको १४ औं दिनमा उनीहरू सेटमा जोडिएसँगै चलचित्रको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले जानकारी दिए ।
चलचित्रका मुख्य ‘पाँच पाण्डव’ को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल ९बले० छन् ।
यी पाँच पात्रहरूलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन् ।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ भए पनि कुनै पौराणिक वा धार्मिक कथामा चलचित्र निर्माण गरिएको होइन ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । ४० दिनको छायांकन तालिका तय गरिएको यस चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए ।
कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिच्दै छन् ।
प्राविधिक रूपमा पनि ‘पाँच पाण्डव’ विशेष हुने देखिएको छ । दर्शकले यो चलचित्रमा ‘फुल डल्बी एट्मस’ साउन्डको गुणस्तरीय अनुभव गर्न पाउनेछन् ।
म्युजिक नेपालले भर्खरै सञ्चालनमा ल्याएको अत्याधुनिक डल्बी एट्मस साउन्ड स्टुडियोमा यसको साउन्ड डिजाइन र मिक्सिङको काम हुने निर्माण टिमले जनाएको छ ।
दिग्गज कलाकारहरूको अभिनय, सामाजिक कथावस्तु र अत्याधुनिक प्रविधिको प्रयोगका कारण ‘पाँच पाण्डव’ ले सिने वृत्तमा अहिलेदेखि नै निकै चर्चा कमाउन सफल भएको छ ।








प्रतिक्रिया