१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


बिपी राजमार्ग अनिश्चितकालीन सञ्चालनमा रोक



काभ्रेपलाञ्चोक
बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । आज साँझ ७ः०० बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गका हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अहिले जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तगा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र यसले राजमार्गमा पु¥याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जनाएको हो । सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ ।

छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरेर यातायात होल्ड र व्यवस्थापन गरिएको विष्टले बताएका छन् । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिल गरिएको छ ।

यसअघि गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले दुई दिन बिपी राजमार्ग अवरुद्ध बनाएपछि करिब ३६ घण्टापछि आइतबार बिहानदेखि सञ्चालनमा ल्याइएको थियो । त्यसबेला पनि दुईतर्फी रूपमा नै सञ्चालन भएको जनाउँदै कार्यालयले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्नसमेत अनुरोध गरेको थियो ।

शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा अस्थायी सडकसमेत बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । जसका कारण शुक्रबार साँझदेखि नै उक्त राजमार्ग ठप्प अवस्थामा रहेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको थियो ।

गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।