३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘सांसदको नाक जोगाउन दश करोड दिनुपर्छ’


१३ जेष्ठ २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
१३ जेठ ०७६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांसदहरुलाई दश करोड रकम छुट्याउनुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले बजेटको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत नै सांसदहरुलाई दश करोड बजेट दिनुपर्ने माग गरेका हुन् । सांसदहरुले पैसा मागेको भनेर बाहिर बद्नाम गराउने काम भएको भन्दै उनले त्यसमा गुनासो पोखे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘यो कार्यक्रम सांसदहरुले ठग्नको लागि बनाईएको कार्यक्रम होईन, जनताले माग गरेका योजना दिनुपर्छ भन्ने हाम्रो कुरा हो । दश करोड आउने भयो भने स्वागतयोग्य कुरा हो । निर्वाचित र समानुपातिक दुवै सांसद दुवैलाई बराबरी दिनुपर्छ । म सांसदलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा छु ।’
यद्धपी सांसदले बेईमानी गर्छ भने सम्बन्धित निकायले कडा निगरानी गर्नुपर्ने उनको धारणा छ । उनले भने,‘बरु सरकारले बजेटको निगरानी गरोस्, हामीले एउटा नोटपनि देख्नु नपरोस, तर दश करोड पैसा सांसदहरुलाई दिनुपर्छ ।’ उनले सांसदहरुको नाक जोगाउनको लागि पनि दश करोड बजेट दिनुपर्ने जिकिर गरे ।
यो वर्षको बजेट गत सालकोभन्दा धेरै राम्रो आउने पनि उनले विश्वास दिलाए । नेता पौडेलले भने,‘यो आर्थिक वर्षको बजेट गत सालको भन्दा राम्रो आउँछ भन्नेमा म विश्वस्त छु । किनकी यो वर्ष अर्थमन्त्रीको गृहकार्यपनि अघिल्लो वर्षभन्दा धेरै राम्रो छ । फरक छ । उहाँले सांसदहरुसँग छलफल गर्नुभएको छ। सरोकारवालाहरुसँग सुझाव लिनुभएको छ।’
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यो बजेटमा समेट्ने प्रतिवद्धता जनाएको पनि उनले सुनाए । त्यस्तै, चुनावी घोषणापत्रमा भएका अधिकतम कुराहरु बजेटमा समेटिने पनि उनले दाबी गरे । उनले भने,‘बजेट समाजवादउन्मुख नै आउँछ । यो वर्ष लोकप्रिय र जनमुखी बजेट आउँछ ।’
फरक प्रसँगमा उनले काठमाडौंमा हिजो घटेको घट्नाको निन्दा गरे । उनले भने,‘हिजोको घट्ना हेर्दा नेपालको प्रचलित ऐन, कानूनसँग मेल खाने खालको छैन् । अहिले देशलाई हिंसात्मक युगतर्फ लैजाने युग होईन ।’
उनले ‘विप्लव’ समूहलाई संविधानसम्मत् अधिकार प्रयोग गर्न पनि आह्वान गरे । उनले भने,‘वार्ताभन्दा अर्को विकल्प छैन् । यदि वार्तामा नआउने हो भने सरकारले आफ्नो स्टेप चाल्छ ।’ उनले सरकारले देश र जनतालाई आतंकित पार्ने घट्नालाई पूर्ण रुपमा नियन्त्रण गर्नेपनि दाबी गरे । यद्धपी वार्ता, सम्वाद र सहमतिको ढोका भने सधैं खुल्ला रहेको पनि उनले सुनाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् राष्ट्रियसभाका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आफ्नो पार्टी सांसदहरुलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले भने,‘सोझै सांसदहरुलाई पैसा बाँड्न आवश्यक छैन् । बरु, सांसदहरुलाई योजना दिनुपर्छ ।’ कांग्रेसले सांसदहरुलाई दश करोड दिनुपर्छ भनेर माग नगरेको उनको दाबी छ ।
उनले गत वर्ष छुट्याईएको बजेटमा पुँजीगत खर्च आधाभन्दा कम भएको सुनाए । उनले भने,‘त्यसैले बजेट छर्ने काम गर्नुहुँदैन् । त्यतिवेला पनि हामीले यति ठूलो बजेट कार्यान्वयन हुँदैन कि भनेर प्रश्न उठाएका थियौं । अहिलेसम्म ५० प्रतिशत पुँजीगत खर्च हुन सकेको छैन् ।’
उनले खर्च गर्नसक्ने क्षमता हेरेर मात्रै बजेट निर्माण गर्नुपर्ने जिकिर गरे । उनले भने,‘पुँजीगत र प्रशासनिक क्षमता हेरेर मात्रै बजेट निर्माण गर्नुपर्छ । बरु, आवश्यकत्तालाई प्राथमिकता दिनुपर्छ । अब कुरा ठूलो गर्ने र काम नगर्ने कुरा गर्नुहुँदैन् । जनतालाई क्षणिक रस्वदान गराउने काम गर्नुहुँदैन् । समयमै सम्पन्न गर्नसक्ने कार्यक्रमहरु मात्रै ल्याउनुपर्छ । पूरा गर्नसक्ने सपनामात्रै दैख्नुपर्छ ।’
उनले बजेट ल्याउँदा सामाजिक सुरक्षा कार्यक्रममा विशेष ध्यान दिनुपर्ने धारणा राखे । उनले भने,‘वृद्धभत्ता बढाउने कुरामा हाम्रो कुनै विमति छैन् । दिर्घरोगीहरुलाई देउवा सरकारले अघि सारेको स्वास्थ्य सुविधा कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’ उनले बजेटमार्फत सामाजिक सुरक्षा कार्यक्रमको दायरा बढाउनको लागि पनि माग गरे ।
पाण्डेले ठूला–ठूला आयोजनाहरु ऋणमा नबनाउनको लागिपनि सरकारलाई सुझाव दिए । उनले भने,‘बरु, ती ठूला आयोजनाहरु अनुदानमा बन्छ भने स्वागत गर्नुपर्छ । होईन भने ऋणमा बनाउनु हुँदैन् ।’
राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले आफूहरुले दश करोड पैसा नमागेको स्पष्ट पारिन् । उनले भनिन्,‘पैसाको साटो सांसदहरुलाई योजना दिनुपर्छ । हामीले योजना पाउनुपर्छ । हामी सांसदलाई दश करोड पैसा दिनुपर्छ भन्ने पक्षमा छैनौं ।’
निर्वाचित र समानुपातिक सांसद दुवैलाई हरेक क्षेत्रमा बराबर योजना दिनुपर्ने उनको माग छ । उनले नेपालमा बजेट हरेक वर्ष फ्रिज हुने गरेको भन्दै त्यसतर्फपनि सोच्नुपर्ने सुझाईन् । उनले प्रश्न गरिन्,‘नेपालमा सधैं किन बजेट फ्रिज हुन्छ ? जति काम गर्ने हो त्यतिमात्रै बजेट ल्याउनुपर्छ । बजेट बनाउँदा प्राथमिकता तोक्नुपर्छ ।’
उनले बजेट ल्याउँदा प्रसादजस्तो छर्ने काम गर्न नहुनेपनि बताईन् । उनले भनिन्,‘हामीले खुद्रा कामभन्दापनि होलसेलमा ठूलो योजनाहरुको काम गर्नुपर्छ । राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्छ । जस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा छ, यसमा विशेष ध्यान दिनुपर्छ । अहिले एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा यात्रुहरुलाई ठूलो मार परेको छ ।’
चौधरीले युवा तथा महिलाहरुलाई रोजगारी सिर्जना गर्ने कुरामा ध्यान दिनुपर्ने सुझाव सरकारलाई दिईन् । उनले भनिन्,‘भत्ता दिएर समस्याको समाधान हुँदैन् । विदेशिएका युवाहरुलाई रोक्नुपर्छ । उनीहरुलाई स्वदेशमै कसरी राख्न सकिन्छ ? भनेर सोच्नुपर्छ । र, त्यहीअनुसारको बजेट ल्याउनुपर्छ ।’
उनले प्रत्यक्ष निर्वाचित र समानुपातिक दुवै सांसद बराबर भएकोले भेदभाव गर्न नहुने धारणा राखिन् । विकास हुन नसकेको क्षेत्रलाई सरकारले बजेटमा विशेष महत्व दिनुपर्ने पनि उनको भनाई छ । उनले कृषि औजार उद्योग, चिनी मिल र चुरोट कारखानाजस्ता कुरामा सरकारले ध्यान दिनुपर्नेपनि बताईन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १० : १२ बजे