३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माघीमा सार्वजनिक विदाको माग


२७ पुस २०७६, आइतबार  

0
Shares


२७ पुष ०७६,काठमाडौं । थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ । आइतबार थारु कल्याणकारिणी सभाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो ।
काठमाडाको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारु समुदायले नयाँ वर्षको रुपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिनु भयो ।
उहाले भन्नुभयो,‘दुई दिनको सार्वजनिक विदा दिनुपर्ने थारु समुदायले माग गरे पनि एक दिन दिइने बिदा समेत कटौतीप्रति थारु समुदायको घोर आपत्ति छ ।’
थारुको सबैभन्दा ठुलो चाड र एवं नयाँ वर्ष माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी) हरेक बर्ष मकर संक्रान्तिकै दिन पर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । माघ १ गतेलाई नेपाल सरकारले वि.सं.२०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिदै आएकोमा गतबर्र्र्षबाट विदा कटौती गरेको थियो ।
थारु कल्याण कारिणी सभाका महामन्त्री मिनराज चौधरीले थारुहरुको आवाज सरकारले सुन्दै नसुनेकाले थारुको आवाज सुनाउन माघीमार्फत आन्दोलनको रुपमा मनाउनु पर्नेमा जोड दिनु भयो । उहाले भन्नुभयो,‘राज्यले थारुमाथि टीकापुर घटनापछि झनै कुदृष्टिले हेर्दै आएको र सोझा थारुमाथि राजबन्दीको आरोप लगाउँदै जेलमा हालेकोले एउटै देशमा दुई प्रकारको कानुन भएको भान हुन्छ ’।
उहाँले राज्यले एकै जनतालाई दुईवटा कानुन बनाएर कारबाही गर्दा थारुमाथि चरम विभेद भएको आरोप समेत लगाउनु भयो । उहाले भन्नुभयो,‘देशमा भ्रष्टाचार गर्ने, सरकारी सुविधा जग्गा हड्पनेहरु खुलेआम हिँड्दा कुनै कानुन लाग्दैन तर थारुहरुले अधिकार माग्दा गोली ठोकिन्छ ।’
थारु विद्यार्थी समाजका अध्यक्ष एवं माघी महोत्सवका उप–संयोजक चन्द्र प्रसाद चौधरीले यसपटक माघी पर्वका लागि १५० वटा स्टलहरुको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा थारु कल्याणकारीणि उपत्यका समितिका सभापति सुमन चौधरी, थारु महिला समाजकी सचिव अनिता चौधरी, थारु महिला सभाकी अध्यक्ष नीलम चौधरीलगायतले उक्त माघी पर्वको महत्वबारे प्रकाश पानुभयो । उनीहरुले पनि उक्त पर्वको दिन राष्ट्रिय विदा दिन माग गर्नुभएको छ ।
हालै काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली प्रतियोगिता (साग) मा विजेता भएका थारु समूदायका खेलाडीहरुलाई पनि उक्त दिवसको दिन सम्मान गरिने आयोजक समितिले जानकारी दिएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ,‘थारु समुदायले माघी पर्वलाई ठाउँ अनुसार फरक फरक नामले समेत मनाउदै आएका छन् । पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरमा माघ भनेर मनाउने चलन छ भने मध्य तराई जिल्ला रुपन्देही, कपिलबस्तु र नवलपरासीमा खिचरी र चितवनमा खिचरा मनाउने गरिन्छ । त्यस्तै पुर्वमा तिलासंक्राईत नामले माघ १ गतेलाई थारु समुदायले हर्सोउल्लासका साथ मनाउँछन् ।’
‘पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको विकास गर्ने यो पर्वको अर्को महत्व हो । बर्षभरिको दुःख सुख एक–आपसमा साटासाट गर्ने, मिठो मसिनो खाएर माघी पर्वलाई हर्षोउल्लासका साथ मनाईन्छ । माघी मकरसंक्रान्तिको दिन पर्ने भएकोले पनि यसलाई महत्वपुर्ण पर्वको रुपमा लिने गरिन्छ ।’–विज्ञप्तीमा भनिएको छ ।
पौष २९ र माघ १ गते टुँडिखेलमा मनाउने उक्त बर्षको माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी ) महोत्सवको तयारी पुरा भएको छ । जस अनुसार पौष २८ गते विहान ८ बजे तिनकुनेबाट भृकुटिमण्डपसम्म मोटरसाईकल र्याली, २९ गते रक्तदान, फूटवल प्रतियोगिता,जीतामार्ने र सांगीतिक कार्यक्रम रहेको छ ।
माघ १ गते झाँकी ¥यालीप्रर्दशन थारु संस्कृति, भेष भूषा, बाजागाजा, संघ संस्थाको तूलब्यानर सहित बिहान १० बजे भृकुटीमण्डपबाट बृहतझाँकी ¥यालीप्रदर्शन गर्दै रत्नपार्क, सहिदगेट हुँदै काठमाडौं मल हुँदै टुँडीखेलमा आयोजना गरिएको मूल समारोहमा सरिक हुनेपनि आयोजकले जानकारी दिएको छ ।
महोत्सवमा २ सय वटा स्टल रह्ने छ । जसमा थारु परिकारहरुको स्टल, भेषभुषा, कलासंस्कृति झल्किने विभिन्न समाग्रिको स्टल, थारु समुदायको ईतिहास बोकेका समाग्रीका साथै पुस्तक प्रदर्शनी समेत राखिने छ ।
कार्यक्रममा नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता रहने महोत्सवमा थारु समुदायको कलासंस्कृति झल्किने नाचगान पनि महोत्सवको आकर्षक रहने छ भने नेपाल थारु पत्रकार संघले प्रचारप्रसारको जिम्मा लिएको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : ५७ बजे