मेलम्ची खानेपानी विकास समिति र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच याङ्ग्री–लार्के को पानी काठमाडौं ल्याउनका लागि स्थानीयबासीको माग बमोजिम सडक पुललगायतका विकाशका आयोजना निर्माण गरिदिने सहमती भएको छ । यो आयोजना संचालनका लागि स्थानीयबासीको माग बमोजिम आयोजना सञ्चालन गर्ने बारेमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र गाउँपालिकाका अध्यक्ष टासी लामाबीच स्थानीय समुदायका हितमा राखी आयोजना सञ्चालन गर्नेबारेमा सहमति पत्रमा बुधबार हस्ताक्षर गर्नुभएको हो ।
सहमति अनुसार आयोजना प्रभावित क्षेत्र परिभाषित गर्नुपर्ने, आयोजना प्रभावित क्षेत्रबाट मेलम्ची विकास बोर्डमा प्रतिनिधित्व गराउनुपर्ने, गाउँपालिकाभित्र गरिने विकास निर्माणकार्य एकद्वार प्रणालीबाट गर्नुपर्ने उल्लेख छ ।
यसैगरी पाँचपोखरी गाउँपालिका–१ र २ लाई जोड्ने मेलम्ची–दाउचेत–केउरेली–जतन–बरुवा–याङ्ग्री सडक कालोपत्र हुनुपर्ने, मेलम्ची भोताङ सडकखण्डअन्तर्गतको थाङपालधापको भँैसी काट्ने थलादेखि थाङपाकोट–मानेखर्क हँुदै भोताङ छिम्ती–देउराली–लार्केसम्म जोड्ने पुल निर्माण र सडक कालोपत्र हुनुपर्ने, तिपेनी, खाल्डे र काफ्ले खोलामा तीन वटा पुल बन्नुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ ।
समितिका कार्यकारी निर्देशक खत्रीले आयोजना गर्नका लागि स्थानीय तहसँग समन्वय गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको बताउनुभयो । उहाँले आयोजनाको पानी काठमाडाँै ल्याउनका लागि स्थानीय सरकार र समुदायको विकास निर्माणसम्बन्धी मागलाई सम्बोधन गर्नका लागि दुई पक्षबीच समझदारी गरिएको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष लामाले आयोजना सञ्चालन गर्नुपूर्व स्थानीय सरकारको मागलाई सम्बोधन गर्नका लागि समितिसँग सहमति गरिएको बताउनुभयो । सांसद शेरबहादुर तामाङले आयोजना सम्पन्न गर्न तथा स्थानीय सरकारका सडक र पुल निर्माणका माग सम्बोधन गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको बताउनुभयो ।
उहाँले छिट्टै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकाले स्थानीय सरकारसँग समितिले सम्झौता गरेको बताउनुभयो । सो आयोजनाअन्तर्गत याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट १७ करोड लिटर गरी कूल ३४ करोड लिटर पानी दैनिक काठमाडाँै ल्याइनेछ । मेलम्ची आयोजनापछि सरकारले सो आयोजना सञ्चालन गर्ने तयारी गरेको छ ।
२९ माघ २०७६, बुधबार
0
Shares
प्रतिक्रिया