६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


हेलिकप्टरको व्यापार घटेपछि १० हजारमै चन्द्रागिरी यात्रा


२५ फाल्गुन २०७६, आइतबार  

0
Shares

 

२५ फागुन ०७६, काठमाडौं । कोरोना भाइरसको त्रासका कारण विदेशी पर्यटक घटेपछि हेलिकप्टर कम्पनीहरु सस्तो प्याकेजमा हेलिकम्पटर उडाउने योजना बनाइरहेका छन् ।
व्यवसायीले उपत्यकाको पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्सबाट हेलिकप्टर चढेर काठमाडौँ उपत्यका राउन्ड लगाउन रु १० हजारको प्याकेज बनाएर उडान अनुमतिका लागि नियामक प्राधिकरणलाई पत्राचार गरिएको वायु सेवा सञ्चालक सङ्घका महासचिव योगराज कँडेल शर्माले जानकारी दिनुभयो ।
मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेपछि व्यावसायीहरु बैकल्पिक क्षेत्र खोज्न बाध्य भएका हुन् ।
एकातिर होटल क्षेत्रमा धमाधम बुकिङ रद्द भइरहेको छ भने हवाई क्षेत्रमा पनि व्यवसाय ह्वात्तै घटेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव नेपालको पर्यटन क्षेत्र त्यसमा पनि हवाई उद्योगमा पर्ने भएकाले वैकल्पिक बजारको खोजी थालिएको हो ।
हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका शर्माले हवाई क्षेत्रमा पनि सबैभन्दा बढी हेलिकप्टर व्यवसाय मारमा परेको बताउनुभयो । वसन्त ऋतुको अगाडि आरोहीलगायतका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेको उहाँले जानकारी दिनुभयो । हेली एभरेष्टको मात्रै १३२ बुकिङ भएकामा ५२ वटा रद्द भइसकेका छन् । सोही अनुपातमा अन्य हेलिकप्टरको पनि बुकिङ रद्द हुनेक्रम बढेको सङ्घले जनाएको छ । अहिले सार्वजनिक सेवामा रहेका १० हेलिकप्टर कम्पनीका ३३ हेलिकप्टर छन् यिमध्ये ३० हेलिकप्टर उडानयोग्य छन् । अहिले देनिक एक÷दुई वटा मात्र उडान भइरहेको कम्पनीले जनाएका छन् । त्यसैगरी जहाजतर्फ आन्तरिक उडानमा नौ वायु सेवा प्रदायक कम्पनीले उडान गरिरहेका छन् ।

महासचिव शर्माका अनुसार अघिल्लो वर्षको तुलनामा अहिले कोरोनाको हल्लाले दैनिक तीन हजार यात्रु घटेका छन् । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यो सङ्ख्या दैनिक चार हजार बढाएर सात हजार पु¥याउने योजना थियो । सबैभन्दा बढी हेलिकप्टरको ५० प्रतिशतभन्दा बढी उडान कटौती भएको छ । जहाजतर्फ ठूला वायु सेवा कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सलगायतको उडान सङ्ख्या सन्तोषजनक रहे पनि डलर यात्री घटेपछि आर्थिक कारोवार ह्वात्तै घटेको महासचिव शर्माको भनाइ छ ।
विदेशीको चहलपहल घटेपछि देशका प्रमुख पर्यटकीय गन्तब्यमा व्यावसायिक सम्भावनाको खोजीका लागि प्याकेज बनाएर सहुलियत मूल्यमा हेलिकप्टर तथा जहाज सञ्चालन गर्ने योजना बनाइएको सङ्घले जनाएको छ ।
त्यसैगरी मुख्य पर्यटकीय क्षेत्र पोखरालगायत गन्तव्यमा पनि यस्तो प्याकेज बनाइनेछ । आन्तरिक गन्तव्यमा जाने यात्रुलाई विशेष छुट ‘अफर’लगायत व्यवस्था गरिने व्यवसायीको भनाइ छ । अहिलेको अवस्था निरन्तर रहे हेलिकप्टर तथा जहाज ग्राउण्डेड गर्न बाध्य हुने बताउँदै सङ्घका महासचिव शर्माले अहिले कम्पनी बचाउनका लागि खर्च कटौती र विभिन्न तौरतरिका अपनाइएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कोरोनाको प्रभावले हवाई क्षेत्रमा अबको तीन महिनामा रु चार अर्ब क्षति हुने अनुमान गरेका छौँ, अहिले जहाजको इन्स्योरेन्स तिर्न र मर्मत खर्च निकाल्न धौधौ परेको छ, त्यसैले हवाई उद्योग बचाइदिन सरकारलाई गुहारेका हौँ ।”
लाखौँ खर्चेर नेपाल आउने विदेशी जोखिमयुक्त देशको यात्रा गर्न रुचाउँदैनन् । त्यसको प्रत्यक्ष असर हवाई क्षेत्रमा पर्ने व्यवसायीको भनाइ छ । वायु सेवा सञ्चालक सङ्घले यही फागुन २३ गते विज्ञप्ति निकालेर कोरोना भाइरसको हल्लाका कारण आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाएको थियो ।

नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब रु चार अर्ब क्षति हुने सङ्घको अनुमान छ । अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाइएको छ । अबको तीनदेखि छ महिना यसको असर देखिने व्यवसायीको आँकलन छ ।

नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन तर पनि विशेष सजकता अपनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुक भनेको छ । कोरोनाको प्रभावले मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा शून्य दशमलव चार प्रतिशत असर पुग्ने एशियाली विकास बैंकले प्रारम्भिक प्रक्षेपण गरेको छ ।
वायु सेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुनःकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् । व्यवसायीको मागका सन्दर्भमा सरकारले पनि कोरोनाको हवाई क्षेत्रमा के कस्तो असर परेको छ भनी नियामक निकायसँग विवरण लिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ११ : ०४ बजे