४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सभ्य बन्दै होली पर्व


२६ फाल्गुन २०७६, सोमबार  

0
Shares


२६ फागुन ०७६, काठमाडौं । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । विशेष गरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहजरूपमा हिँडडुल गर्न सकेको भक्तपुर नगरको चाँगुनारायणबाट अनामनगर कार्यालयमा आउनुभएका रामप्रसाद सञ्जेलले बताउनुभयो । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँुडिखेलमा लगी जलाउँछन् । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताउनुभयो । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वे्दिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ । यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागिरी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । यो चाडमा थकाली रङ्गीबिरङ्गी पोशाकमा सजिएर सपरिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ । फागु पर्व नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ । अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यजनक वेषभूषा लगाई प्रतियोगिताको आयोजना गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी श्रीलङ्का र इन्डोनेशियाको जाभामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेशियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।

राष्ट्रपति भण्डारीद्वारा फागुपूर्णिमाको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा यही फागुन २६ गते र तराईका जिल्लामा फागुन २७ गते मनाइँदै छ । राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याउने छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
कोभिड–१९ स् नेपालीलाई भारत नजान टीकापुरको आग्रह
कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन् । नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल गर्नाका साथै नेपालीलाई पनि भारत नजान आग्रह गरेको हो ।

नगर विपद् व्यवस्थापन समिति टीकापुरको आज बसेको बैठकले भारतमा कोरोना भाइरसको सङ्क्रमण देखिएकाले नेपाल उच्च जोखिममा रहेको भन्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक किनमेलका लागि भारत नजान आग्रह गरेको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । “भारतमा सङ्क्रमण देखिएकाले नेपालमा सर्न सक्ने जोखिम बढेको हो । सीमासँग जोडिएको क्षेत्र भएकाले यहाँ बढी जोखिम छ”, रावलले भन्नुभयो, “त्यसकारण सामान्य किनमेल जस्ता कार्यका लागि भारत नजान आग्रह गरेका हौँ । अब नगरवासीलाई सार्वजनिक सूचना र माइकिङ गरेर सचेत गर्न थालेका छौँ ।”

नगरपालिकाले बजारमा मास्कलगायतका सामान अभाव देखिएकाले बजार अनुगनम गर्ने र टीकापुरका सबै विद्यालयमा सचेतना कार्यक्रम गर्ने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाले सङ्क्रमणको जोखिम देखिएमा आवश्यक पर्ने क्वारेन्टाइन र आइसोलेसनका लागि पनि पूर्वतयारी थालेको छ । “क्वारेन्टाइनका लागि सार्वजनिक भवनको प्रयोग गर्न पूर्वतयारी अवस्थामा राखेका छौँ”, रावलले भन्नुभयो, “सबै नागरिकलाई सरसफाइमा ध्यान दिन आग्रहसमेत गर्न थालेका छौँ ।”

कोरोना भाइरस देखिएमा आइसोलेसनमा बिरामी राख्न खर्चिलो छ । टीकापुर अस्पतालका चिकित्सक जितेन्द्र कँडेलले अस्पतालले हाल दुई श्ययाको आइसोलेसन तयार गरिसकेको बताउनुभयो । “थप श्ययाका लागि हाल रहेको प्रसूति वार्डलाई नयाँ तयार भएको प्रसूति भवनमा सार्दैछौँ । अहिले प्रयोगमा रहेको प्रसूति हललाई आइसोलेसनका लागि तयारीमा राख्छौँ ।”

टीकापुरको खक्रौलामा रहेको सीमामा सहायता कक्ष ‘हेल्थ डेस्क’ राखेर जाँच भइरहे पनि जाँचमा जनशक्ति अभाव छ । खक्रौला नाकामा दैनिक हजारौँ नागरिक ओहोरदोहोर गर्ने भएकाले जाँचमा हम्मेहम्मे परेको छ । स्वास्थ्यकर्मीले शङ्का लागेका मानिसको जाँच गर्छन् । दैनिक सयौँको जाँचसहित विवरण राख्ने, सचेतनाका लागि परामर्श, सुझाव दिनुपर्ने भएकाले हेल्थ डेस्कमा कर्मचारी अभाव हँुदा समस्या भइरहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताउनुभयो । राष्ट्रिय समाचार समिती

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ५६ बजे