१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको निगु पोखरीले पुनर्जीवन पायो


२८ असार २०७७, आइतबार  

0
Shares

मध्यपुर थिमि नपा ४ अवस्थित दुईपोखरीमध्य एउटा पोखरी पुन निर्माण सम्पन्न भएपछि शनिबार उद्घाटन कार्यक्रम सहभागीहरू । उदघाटन मध्यपुर थिमि नपका प्रमुख मदनसुन्दर श्रेष्ठले गरेका थिए । तस्वीर ः रत्न
श्रेष्ठ\रासस

२८ असार ०७७,मध्यपुरथिमि । भक्तपुर साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो । बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा ढुङ्गा चलिरहेका थिए । पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो ।

मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरीमध्ये दक्षिण तर्फको पोखरीमा शनिबार साँझको उद्घाटन सत्रमा देखिएको दृश्य हो यो ।
थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करीब ३०० वर्षपहिले गङ्गा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि निर्माण गराएको ‘निगु पुखुः’ले पुनर्जीवन पाएसँगै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभएको हो । विसं २०१५ मा तत्कालीन राजा महेन्द्र भक्तपुर आउँदा उहाँलाई स्वागत गर्न पानी निकालेपछि दुईपोखरी घाँसेमैदानमा परिणत भएको थियो । २०६५ सालमा नगरपालिकाले रु १० लाख खर्च फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता पोखरीमा मङ्सिरमा धान सुकाउने र अन्य समयमा केटाकेटी खेल्ने मैदानका रूपमा परिणत हुँदै आएको थियो ।

कार्यक्रममा जनप्रतिनिधिको जिम्मेवारी सम्हालेपछि लिएको सङ्कल्प धमाधम पूरा गर्दै आएको नगरप्रमुख श्रेष्ठले ‘निगु पुखुः’ यसको ज्वलन्त उदाहरण भएको बताएका छन् । नगरपालिकाले आव ०७५÷७६ मा रु ५० लाख बजेट विनियोजन गरी निरञ्जन श्रेष्ठको अध्यक्षतामा गठन भएको पुनर्निर्माण तथा गुरुयोजना उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु गराएको थियो । कूल रु १५ करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएकामा चालू आव ०७६÷७७ मा रु एक करोड २५ लाख र वाग्मती प्रदेशले रु ५० लाख बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिँदैे दक्षिण तर्फका पोखरीको पुनर्निर्माण सकिएको र उत्तर तर्फको ठूलो पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको बताए ।
पोखरीको चारैतिर माः अप्पा, दाची अप्पाः इँटामा चुना सुर्कीको प्रयोग गरी पर्खाल लगाएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ । पोखरीमा तल कालीमाटी, बीचमा पाङ्गो माटो र माथि पुनः कालीमाटी गरी १५ इञ्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ । यस प्रविधिले पोखरीमा पानी नसुक्ने जानकारी दिँदै उनले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकासेपानी सङ्कलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताए । दुई पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठवटा फल्चा अर्थात् पाटी निर्माण गरिँदैछ ।
कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले दुईपोखरी क्षेत्रलाई नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शनस्थल एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जानकारी दिए । मध्यपुरथिमि भित्रका ऐतिहासिक सम्पदाको संरक्षण एवं जीर्णोद्वार गर्दै ओझेलमा परेको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउने उनको भनाई छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ४ : ५६ बजे