११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दुर्घटनापछि रोकियो मेलम्चीको परिक्षण


१ श्रावण २०७७, बिहिबार  

0
Shares


सञ्चिता घिमिरे÷देवराज सुवेदी
१ साउन ०७७, मेलाम्ची । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ ।
आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो । सुरुङमा पठाएको सबै पानी बाहिर निकालिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ अम्बाथानस्थित आयोजना निर्माणस्थलमा बुधबार भएको दुर्घटनामा १० दिन पहिलेबाट सुरुङभित्र पठाइएको सबै पानी बाहिर निकालिएको बताइएको छ ।
मङ्गलबार दिउँसो मेलम्ची खानेपानी विकास बोर्ड, निर्माण कम्पनी र परामर्शदाताको संयुक्त टोली सुरुङको निरीक्षणका लागि अम्बाथानस्थित आयोजना निर्माणस्थलमा पुगेको थियो । प्रारम्भिक रुपमा सुरुङमा रहेको गेटको नेटबोल्ड फुत्केर पानी बाहिर निस्केको भन्ने बुझिएको आयोजनका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताएका छन् । सो आयोजनाको निर्माणसँगै सुरुङको परीक्षणका लागि कार्यविधि बनाइएको थियो । सोही कार्यविधिका आधारमा प्राविधिक टोली परीक्षणका लागि पुगेको हो । उनले भने, “उहाँहरु त्यहीँ हुँदा दुर्घटना भएकाले पानीको बेगले बगाएको हो ।”

सुरुङको निर्माण सम्पन्न भएकाले त्यसको निरीक्षण र समन्वयका लागि समिति बनेको थियो । अम्बाथानको जिम्मा इञ्जिनीयर शेखर खनाललाई दिइएको र उहाँको नेतृत्वमा परामर्शदाता र निर्माण व्यवसायीको एक÷एक जना प्रतिनिधि रहेको थियो । अहिले पनि निर्माण व्यवसायी निर्माणस्थलमै रहेकाले सो घटना कसरी भयो भन्ने व्यवसायीलाई नै जानकारी हुने उनले बताएका छन् ।
आयोजनाले सामान्य अवस्थामा के गर्ने भनी बनाएको कार्यविधिकै आधारमा अहिलेसम्म परीक्षण भइरहेको प्रवक्ता पन्तले बताए । पानी बाहिर जाँदा के गर्ने भन्ने पनि कार्ययोजनामा रहेको उनले बताए । पानी बाहिर निस्कँदा बस्तीलाई माइकिङ खबर गर्ने उल्लेख छ । घटना एक्कासी भएको र परीक्षणका लागि गएका व्यक्ति नै बगाएकाले खबर गर्न नपाइएको हो । उनले भने, “कुनै त्रुटि भएमा के गर्ने भन्ने पनि कार्ययोजनामा छ ।”
आयोजनाले निरीक्षणका लागि व्यक्ति आफैँ जाँँदा जोखिम हुने देखिएकाले अब पानी हाल्दा निरीक्षणका लागि सीसी क्यामरा जडान गर्ने योजना बनाएको छ । सुरुङमा रहेको सबै पानी बाहिर निस्केकाले अब फेरि १५÷२० दिन सुरुङमा पानी भर्न नै लाग्नेछ । तत्काल नै पानी पठाउने भने योजना नरहेको आयोजनाले जनाएको छ ।

सुरुङभित्र गएको पानी गेटबाट बाहिर एकै पटक निस्किेपछि अहिले त्यहाँ पानी पठाउन रोकिएको छ । अब पहिले त्रुटि सच्चाउने र त्यसपछि मात्रै पानी हाल्ने आयोजनाका प्रवक्ता पन्तले बताए । त्यहाँ कति पानी थियो भन्ने निर्माण व्यवसायीले बोर्डलाई जानकारी गराउने उनले बताए । आगामी दिनमा त्रुटि सच्चाएर र थप सर्तकता अपनाएर मात्रै पानी पठाइने आयोजनाले जनाएको छ । उनले भने, “घटनास्थलमा पुगेर हेरेपछि मात्रै घटनाको कारण र क्षतिका विषयमा जानकारी हुन्छ ।”
आयोजनाले गत २१ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको छ । सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्ने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि उत्तिनै समय लाग्नेछ । अर्थात् १५ दिन पानी पठाएजस्तै खाली गर्न पनि उत्तिनै अवधि लाग्नेछ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तरराष्ट्रिय मापदण्डअनुसार नै प्राविधिक टोलीले निरीक्षण गर्ने योजना थियो । सबै अवस्थाको जाँच पड्ताल गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय सोही दिन पत्रकार सम्मेलनमार्फत बताएको थियो ।

आगामी भदौको दोस्रो साताभित्र काठमाडौँमा नियमितरुपमा पानी उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।
घाइतेको उपचार र बेपत्ताको खोजी जारी
सो दुर्घटनाका कारण घाइते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनालको ग्वार्काेस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा सवारी चालक राधाकृष्ण थापामगर र इञ्जिनीयर सतिश गोहितको खोजी भइरहेको छ । आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर गोहित बेपत्ता भएका थिए । उनीहरु अझै फेला नपरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
घाइतेलाई हेलिकप्टरमार्फत मङ्गलबार नै काठमाडाँै ल्याइएको तामाङले जानकारी दिए । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिउका छन्। उनीहरुले मेलम्ची खोलाको दुवै साइडबाट खोजी गरिरहेको छ । ढोका फुटे पनि आएको बाढीले बा१झ ८७६४ नम्बरको हाइलक्स गाडीसमेत बगाएको थियो । पानीले एकै पटक गेट भत्काएपछि गाडी अडिट टनेलबाट उच्छिट्टिएर मेलम्ची नदीमा पुगेको थियो । मङ्गलबार नै गाडीलाई नदीबाट निकालिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । उनका अनुसार बेपत्ता व्यक्तिको खोलामा खोजी भइरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । खानेपानी मुहानभन्दा तल्लो भेगका स्थानीयवासीलाई नआतिएर सर्तक हुन आयोजनाले अनुरोध गरेको छ ।रासस

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  १० : २२ बजे