११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा बाढी पहिरोले क्षति नै क्षति


८ श्रावण २०७७, बिहिबार  

0
Shares

धापाखेलको पहिरोको जोखिमा परेको घर । तस्विरहरु ः ललितपुर खबर

८ साउन ०७७, ललितपुर । गतसोमबारदेखि आएको अविरल वर्षापछि ललितपुरमा ज्यादा क्षति देखिएको छ । बाढी पहिरोको क्षति संकलनका क्रममा ललितपुरका ३ वटा नगर र २ वटा गाँउपालिका यो क्षति देखिएको हो ।
महालक्ष्मी– ९ डाँडाथोकमा बाढीले ढल थुनिएर सात घर जोखिममा पर्नुका साथै घिमिरे थोकका चार घर पनि जोखिममा परेका वडाध्यक्ष वासुदेव शर्मा गौतमले बताएका छन् । उनले भने, “यस वडाका सडक छेउमा रहेका अग्लो भागमा पानी पर्दा ठाउँठाउँमा भत्किएर खसेका र बाढीले जमिन कटान गरी बग्दा २० देखि २५ रोपनी धानखेत पुरिएका छन् ।” डाँडाथोकको एक घरमा पहिराले असर गर्दा हाल सो परिवार छिमेकीको घरमा बस्न बाध्य भएका गौतमले जानकारी दिए ।
यसैगरी वडा नं १० लाकुरी भञ्ज्याङको ९० प्रतिशत बस्ती भिरालो स्थानमा रहँदा वर्षैपिच्छेको अविरल वर्षातको जोखिम मोल्न बाध्य भइरहेको वडाध्यक्ष बलराम लामाले बताएका छन् । सो वडाका दुई घरमाथिबाट पहिरो खसेर जोखिममा रहँदा ती परिवारलाई अन्यत्र सारिएको लामाले जानकारी गराए ।
पहिरो जाँदा ललितपुर महानगरपालिका– २४ धापाखेलका सात घर जोखिममा परेका छन् । यीमध्ये पहिराले दुई घर भत्किएका महानगरपालिकाले जनाएको छ ।
गतमङ्गलबार सो स्थानको जानकारी लिन जाँदा तीनदेखि चार तलाका घरमा समेत क्षति भएका पाइएको महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बताएकी छिन् । उनले भनिन्, “वडा नं २३ धापाखेलको अर्काे टोल पानीले डुबाउँदा यहाँका स्थानीयवासीलाई समस्या परिरहेको छ ।” महानगरपालिकाका अन्य वडामा पहिराले क्षति पु¥याए तापनि मानिसमा भने हालसम्म कुनै असर गरिनसकेको सत्यालले बताइन्।
जोखिममा परेका यी घरपरिवारलाई के गर्ने भन्ने विषयमा महानगरपालिकामा छलफल गरी अघि बढाइने सत्यालको भनाइ छ । महालक्ष्मी नगरपालिका– ८ शङ्खादेवीमा पहिरो गएर एक परिवार बसेको टहरा भत्किएको, शान्त्ति निर्माण सेवाले तीन वर्षअघिदेखि काम थालेको गोदावरी खोलाको पुल समयमै निर्माण सम्पन्न नहुँदा कैयौँ खेतीबालीमा हानि पु¥याएको, लुभूको तल्लो खानेपानी दोभानमा पहिरो जाँदा लुभू बजार क्षेत्रका जनतालाई खानेपानीको समस्या भइरहेको र यहाँका ५० देखि ६० तरकारीका टनेल पनि बिग्रिएका वडाध्यक्ष विश्वराज श्रेष्ठले जानकारी दिए ।
महालक्ष्मीका यी तीन वडामा स्काभेटर लगाएर सडक पन्छाउने र तारजाली पठाउने काम भइरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताएका छन् ।
उनले भने, “हनुमन्ते पुल आसपास रिटेनिङ वाल र किष्ट अस्पताल क्षेत्रमा ढल नमिलेर बस्तीमा पानी छिर्दा ढल खोल्ने काम पनि भइरहेको छ ।” नगरपालिकाको कृषि शाखाले हरेक वडागत क्षतिको तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेको श्रेष्ठले जानकारी गराउका छन् ।
गोदावरीमा यस वर्षको वर्षातले भित्री सडक अवरुद्ध, केही घरबस्तीमा जोखिम, धानबालीमा भेल पस्दा केही धानखेत नष्ट, ललित घुम्ती सडक ठाउँठाउँमा पहिरो, वडा नं ५ लेले थापागाउँका पाँच घरपरिवार विस्थापित र लेले भञ्ज्याङ छिर्ने मुख्य सडक अवरुद्ध, वडा नं ७ देवीचौरमा १२ घर चर्किएका, वडा नं ९ छम्पीका पाँच घर पहिरोका कारण धरापमा रहेका समाचार प्राप्त भएको छ ।

गोदावरी नगरको वडा नं १२ थेचोको नख्खुखोला क्षेत्रका धानबाली नष्ट, वडा नं १३ झरुवारासीका १६ देखि १७ घर जोखिममा रहेका छन् । गोदावरीका हरेक वडामा भएका नोक्सानीबारे लगत सङ्कलनको काम जारी रहेको उपप्रमुख सत्यालले बताइन् ।
ललितपुरमा रहेका तीन वटा गाउँपालिकामध्ये वाग्मतीको वडा नं ४ प्युटार खयरघारीमा वाग्मती खोलाले हानेर केही जमिन बगाएको, गाउँपालिकाका मुख्यदेखि सहायक सडक अवरुद्ध हुँदा दूध र तरकारी बजारीकरण गर्न समस्या भइरहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए ।
महाङ्कालमा बाढी र पहिराले बाटाघाटा बन्द भएका, विद्युत् भने आउने र जानेक्रम रहेको तथा लेले–चन्दनपुर–ठूलादुर्लुङ सडक अवरुद्ध भइरहेको नं ६ का वडाध्यक्ष रामकृष्ण आचार्यले बताउका छन् । महाङ्कालभित्र हाललाई सामग्री ढुवानी र गाउँपालिकामा कोही बिरामी पर्दा औषधि उपचारका लागि अस्पताल लानसक्ने वातावरण नभएको आचार्यले बताए ।
कोञ्ज्योसोममा यस वर्ष वर्षातले खासै असर नगरेको गाउँपालिकाका सूचना अधिकारी चित्रदेव दाहालले बताए । काठमाडौँ हेटाँैडा जोड्ने छोटो दूरीको कान्ति लोकपथ भने पूर्णरुपमा बन्द भएको छ । ललितपुरमा रहेका छ स्थानीय तहमा यस वर्षको बाढीपहिरो र वर्षातले मानवीय हानि भने आजसम्म भएको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ८ : २९ बजे