
५ भदौ ०७७, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइकलधनी देखिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज ((शुक्रबार) दोस्रो दिनसम्म कुल तीन हजार ५ सय २ सवारी साधनले आदेश उल्लङ्घन गरेको पाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसमा सबैभन्दा बढी तीन हजार १ सय ४५ मोटरसाइकल छन् । जम्मा ३ सय ५७ चारपाङ्ग्रे गाडीले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको छ । पहिलो दिन बिहीबार सबैभन्दा बढी दुई हजार ९ सय २ सवारी साधन आदेश नमानेर गुडेको थियो । आज शुक्रबार दोस्रो दिन आदेश उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या ह्वात्तै घटेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताएका छन् । ढकालका अनुसार आज भने ६ सय १० सवारी साधनले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको छ । त्यसमा ५ सय ३० मोटरसाइकल छन् ।“पहिलो दिन अलि अन्योल पनि भयो, कतिले थाहा नपाएको पनि हुन सक्छ, कसैले पेलेर जान खोजेका पनि थिए तर हामीले त्यस्ता गाडीलाई कडाइ गरेर दिनभर नै होल्डमा राख्यौँ”, ढकालले भने, “त्यसैको प्रभाव आज न्यून गाडीले आदेश अटेर गरेको पाइयो ।”
ढकालले पहिलो दिनभन्दा आज शुक्रबार भने शहरबजार, सडक तथा पसलमा धेरै नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताउका छन् । त्यसरी आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ । अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारवाहीको दायरामा लगिने उनले बताए । त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने छ ।
स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले रु पाँच सयसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ । यस्तै सङ्क्रामक रोग ऐन २०२० मा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा रु १ सयसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यो ऐनअन्तर्गत काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा रु ६ सयसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
महाशाखाले आदेशको पालना गराउन काठमाडौँ उपत्यकाका १ सय ५२ स्थानमा जाँच गर्ने गरेको छ । यस्तै ४६ स्थानमा नेपाल प्रहरी र ट्राफिकको संयुक्त टोली रहेको र राति ३९ स्थानमा जाँच हुने गरेको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाले यही भदौ १० गतेसम्म अत्यावश्यकबाहेकका गतिविधि गर्न निषेधको आदेश जारी गरेका छन् । उपत्यकामा कोरोनाको सङ्क्रमण ह्वात्तै बढेपछि उक्त आदेश जारी गरिएको छ । पछिल्लो समय उपत्यका कोरोनाको उच्च जोखिममा छ ।







प्रतिक्रिया