
२५ भदौं ०७७, ललितपुर । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि सरकारले विगत छ महिनादेखि जारी राखेको लकडाउनका कारण समस्यामा परेका फोटो पत्रकारलाई राहत वितरण गराइएको छ ।
बाग्लुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष रस्मिला श्रेष्ठ र समाजसेवी सरोज भारीको सहयोगमा राहतस्वरुप आज(विहीबार) १५ फोटो पत्रकारलाई २५ केजी चामल र एक केजी सोयाबिन तेल उपलब्ध गराइएको हो । समाजसेवीले उपलब्ध गराएको खाद्यान्न राष्ट्रिय फोटोपत्रकार समूहले आवश्यकताका आधारमा फोटो पत्रकारलाई उपलब्ध गराएको समूहका महासचिव एवं फोटोपत्रकार प्रदीपराज वन्तले जानकारी दिएका छन् ।
समूहले यसअघि ललितपुरको झरुवाराशीमा रहेको बज्र इँटाभट्टामा कार्यरत ६३ श्रमिकको परिवारलाई राहत उपलब्ध गराएको थियो । यस्तै लामो समयदेखि बिरामी पत्रकार तथा लेखक बीके पाल्पालीलाई पनि समूहले रु २२ हजार बराबरको औषधि र रु आठ हजार बराबरको खाद्यान्न सहयोग गरेको थियो । राष्ट्रिय जनस्वास्थ विभाग टेकुको सहयोगमा काठमाडौँमा रहेका विभिन्न सञ्चार संस्थामा कार्यरत १ सय २५ जना फोटोपत्रकारले पिसीआर परीक्षण गराएका थिए ।







प्रतिक्रिया