४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अर्थमन्त्री पौडेल भन्छन्,‘चाँडो कोरोनाविरुद्धको खोप ल्याउने तयारी छ’


२७ मंसिर २०७७, शनिबार  

0
Shares

फाइल तस्विर

२७ मंसिर ०७७, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार कोरोना विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाचौँ महासभालाई आज सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने, “सरकार सबैलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।” उनले मुलकको आर्थिक क्षेत्रमा नीजि क्षेत्रको योगदान अतुलनीय रहेको बताउँदै कोभिडविरुद्धको लडाइँमा सरकारलाई सहयोग निजी क्षेत्र, सञ्चार क्षेत्र र आम नागरिकलाई आह्वान गरे ।
“यति बेला समग्र मानव जाति कोरोनाको महामारीबाट आक्रान्त छ, आर्थिक, सामाजिक क्षेत्र प्रभावित छ, हामी पनि त्यसबाट प्रभावित छौँ, अहिले कोरोनालाई परास्त गर्दै आर्थिक–सामाजिक जीवनलाई पूर्ववत् अवस्थामा फर्काउन चुनौती बनेको छ”, उनले भने । मन्त्री पौडेलले सरकारले नागरिकको जीवन रक्षा र नागरिक सर्वोच्चतालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै कोरोनाका बिरामीको उपचारले सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
कोरोनाकै बीचमा पनि सरकार उत्पादन र लगानीका क्षेत्रमा काम गर्न सकिने अनुकूल आधार निर्माण गर्नेतर्फ केन्द्रित भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले भोग्नु परेको समस्या समाधानतर्फ केन्द्रित भएको पनि बताए । कोरोनासँगै देशले भोगिरहेको आर्थिक क्षेत्रलाई उकास्ने गरी रचनात्मक र आलोचनात्मकरुपमा प्रस्तुत हुन सञ्चार क्षेत्रलाई अपिल पनि उनले गरेका छन् । नाफिजका अध्यक्ष सीताराम भट्टराईले पत्रकारको हकहित, क्षमता वृद्धिसँगै समग्र देशको आर्थिक क्षेत्रको विकासमा सहयोग प¥याउने गरी संस्थाले काम गर्दै आएको बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।